काठमाडौँ – देशकै लाइफलाइन नारायणघाट–मुग्लिन सडक खण्डको खहरे खोला नजिकै नयाँ स्थानमा पहिरोको उच्च जोखिम देखिएको छ । मुग्लिनबाट करिब ५५० मिटर नारायणघाटतर्फ (चेनेज ३५.१५०) रहेको पहाडी भूभागमा पहिरो खसेपछि प्राविधिक टोलीले अध्ययन गर्दा सो स्थानमा थप पहिरो खस्ने सम्भावना उच्च रहेको निष्कर्ष निकालेको हो ।
सडकमा नयाँ जोखिम सिर्जना भएसँगै सडक डिभिजन कार्यालय भरतपुरले सूचना जारी गर्दै उक्त सडक भएर आवतजावत गर्ने सर्वसाधारण तथा सवारी चालकहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार गत साउन १२ गते सोही स्थान (चेनेज ३५.१५०) मा अचानक ठुलो पहिरो खसेको थियो। पहाडबाट ठुला ढुङ्गा र माटो खसेका कारण सो दिन नारायणघाट–मुग्लिन सडक खण्ड एकै दिन तीन पटक गरी कुल ७ घण्टासम्म पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रुहरू सडकमै अलपत्र परेका थिए । डिभिजन सडक कार्यालय भरतपुरले २४सै घण्टा तैनाथ अवस्थामा राखेका आफ्ना उपकरणहरू र सोही क्षेत्रमा कार्यरत निर्माण व्यवसायीका हेभी इक्विपमेन्टहरूको प्रयोग गरी पहिरो पन्छाएर सवारी आवागमन सुचारु गराएको थियो ।
कार्यालयका अनुसार यसअघि उक्त स्थानमा पहिरोसम्बन्धी कुनै उल्लेख्य गतिविधिहरू देखिएका थिएनन् । कडा चट्टानी भूभाग भएका कारण प्राविधिक रूपमा सो क्षेत्रलाई सुरक्षित मानिँदै आइएको थियो । विगतमा कुनै समस्या नदेखिएको स्थानमा यस पटक अप्रत्याशित रूपमा ठुलो मात्रामा पहिरो खसेपछि सडक विभाग र प्राविधिकहरू सशङ्कित बनेका हुन् ।
पहिरो खसेको भोलिपल्ट अर्थात् साउन १३ गते सडक डिभिजन भरतपुरका इन्जिनियरको नेतृत्वमा खटिएको प्राविधिक टोलीले ड्रोन क्यामेराको सहायताले पहिरो प्रभावित पहाडको विस्तृत स्थलगत निरीक्षण गरेको थियो । ड्रोनमार्फत लिइएको दृश्यहरूको अध्ययन गर्दा पहाडको माथिल्लो भागमा भौगर्भिक हलचल देखिएको र थप पहिरो खस्ने जोखिम यथावत् रहेको पुष्टि भएको छ ।
विगतमा सुरक्षित मानिएको चट्टानी पहाडमा पहिरो गएकाले सडक विभागले यसको दीर्घकालीन समाधानका लागि भू–प्राविधिक विज्ञ परिचालन गर्ने भएको छ । विज्ञ टोलीले गर्ने विशेष निरीक्षण तथा प्राविधिक अध्ययनपछि प्राप्त हुने राय–सुझावका आधारमा पहिरो रोकथाम र सडक सुरक्षाका थप प्रक्रियाहरू अगाडि बढाइने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।
यसैगरी यस क्षेत्रमा थप पहिरो खस्ने जोखिम कायमै रहेकाले सडक डिभिजनले उक्त क्षेत्र भएर यात्रा गर्ने सबैलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।डिभिजनले जोखिमपूर्ण वा पहिरो प्रभावित स्थान आसपास सवारी साधन रोकेर नराख्न, सो खण्ड पार गर्दा सवारी साधनको गति सीमित र नियन्त्रणमा राखी चलाउन, यात्रा गर्दा पहाडको माथिल्लो भाग र मौसमप्रति निरन्तर सतर्क रहन अनुरोध गरेको छ ।साथै सम्भावित पहिरो हटाउन र सडकलाई दुवैतर्फ सञ्चालनमा राखिरहन आवश्यक उपकरण र जनशक्तिलाई सोही क्षेत्रमा तयारी अवस्थामा राखिएको समेत कार्यालयले स्पष्ट पारेको छ ।


