वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु 

रौतहट –  पर्साको वीरगन्ज महानगरपालिकामा विकास निर्माणका क्रममा गरिएको लापरबाहीका कारण दुई बालिकाले ज्यान गुमाउनुपरेको छ । वीरगन्ज महानगरपालिका–२६ सुगौलीको चक्रदहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना दिदीबहिनीको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा स्थानीय प्रभु ठाकुरका ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन् । सोमबारदेखि हराइरहेका उनीहरूको शव मंगलबार बिहान सोही खाल्डोमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

स्थानीयका अनुसार, सोमबार दिउँसो दुवै बालिका आफ्ना हजुरबुवा किशोरी ठाकुरसँग चक्रदहस्थित खेतमा गएका थिए । हजुरबुवा खेतको काममा व्यस्त रहँदा बालिकाहरू नजिकै खेलिरहेका थिए। केही समयपछि हजुरबुवा उनीहरूलाई खेतमै छाडेर केही बेरका लागि घर फर्किएका थिए ।

तर, घरबाट पुनः खेतमा फर्किंदा दुवै बालिका त्यहाँ थिएनन्। हजुरबुवा र परिवारका अन्य सदस्यहरूले तत्कालै गाउँ, छिमेक, आफन्त र सम्भावित सबै ठाउँमा खोजी गरे पनि बालिकाहरूको कुनै अत्तोपत्तो लाग्न सकेन ।

खोजतलास गर्दा पनि छोरीहरू नभेटिएपछि परिवारमा रुवाबासी चल्यो। सोमबार राति ढिलोसम्म खोज्दा पनि फेला नपरेपछि बालिकाकी आमा अन्तिमा देवीले राति इलाका प्रहरी कार्यालय सुगौली बिर्तामा आफ्ना नाबालक छोरीहरू हराएको लिखित÷मौखिक जानकारी गराएकी थिइन् ।

आमाको उजुरी लगत्तै प्रहरी नायब निरीक्षक जागेश्वर महतोको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरी रातभर खोजी कार्य जारी राखिएको थियो । यसै क्रममा, मंगलबार बिहान उनीहरू हराएको खेतभन्दा करिब ५ सय मिटर पूर्वतर्फ रहेको निर्माणाधीन पुलको खाल्डोमा दुवै बालिकाको शव फेला परेको हो। वर्षा र निर्माण कार्यका कारण उक्त खाल्डोमा ठूलो परिमाणमा पानी जमेको थियो, जहाँ सन्तुलन गुमाएर खस्दा बालिकाहरूको डुबेर मृत्यु भएको अनुमान गरिएको छ ।

घटनाको जानकारी पाएलगत्तै पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको छ । डिएसपी मल्लका अनुसार घटनाको प्रकृतिको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी दुवै बालिकाको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको स्पष्ट कारण खुल्ने र सोही आधारमा अनुसन्धान अघि बढ्ने प्रहरीको भनाइ छ । दुई बालिकाको निधनले यतिबेला सुगौली गाउँ शोकमा डुबेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु