भरतपुर — रोटरी क्लब अफ चितवनको नियमित साप्ताहिक बैठकमा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence–AI) सम्बन्धी विशेष अन्तरक्रियात्मक बहस तथा प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वर्तमान विश्वमा AI को अवधारणा, यसको कार्यप्रणाली, द्रुत रूपमा विकसित भइरहेका विभिन्न AI टुलहरू, समाजमा यसको उपयोगिता, जिम्मेवार र प्रभावकारी प्रयोगका उपाय, साथै यसका अवसर, फाइदा र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो।
त्यसैगरी, रोटरीका सामाजिक सेवा अभियानलाई थप प्रभावकारी बनाउन तथा संस्थागत सुदृढीकरण, सदस्य व्यवस्थापन, सञ्चार, जनसम्पर्क र सेवा परियोजनाहरूको प्रभावकारिता अभिवृद्धि गर्न AI लाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि विशेष प्रस्तुति दिइएको थियो, जुन कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपालको सूचना प्रविधि समितिका सदस्य, रोटरी क्लब अफ चितवनका पूर्व अध्यक्ष तथा काउन्सिल अध्यक्ष भानु शर्मा ले स्रोत व्यक्तिका रूपमा प्रस्तुति दिएका थिए। उनले AI को वर्तमान अवस्था, भविष्यका सम्भावना तथा सामाजिक संस्थाहरूले यस प्रविधिबाट लिन सक्ने लाभबारे सहभागीहरूलाई व्यवहारिक उदाहरणसहित जानकारी गराएका थिए।
क्लबका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव रोशन खरेल ले गरेका थिए। भरतपुरस्थित गार्डेन होटल मा आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू, बोर्ड पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले AI प्रविधिको जिम्मेवार, नैतिक र प्रभावकारी प्रयोगमार्फत रोटरीका सेवा गतिविधिलाई अझ आधुनिक, प्रभावकारी र परिणाममुखी बनाउन सकिने विश्वास व्यक्त गरेका थिए।


