अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै

एटुजेड समाचार

काठमाडौँ – प्रहरीले अभियन्ता वेदिका केसीलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्ने भएको छ । बुधवार मध्यान्ह पक्राउ परेर साँझ हाजिर जमानीमा रिहा भएकी केसीसँग साइबर ब्युरोका अनुसन्धान अधिकृतहरूले बयान लिइरहेका छन् । उनको बयान पुरा भएको छैन ।

सञ्चारकर्मी प्रकाश सुवेदीसँगको टेलिभिजन अन्तर्वार्तामा कथा बाचिका राधिका दासीलाई अनर्गल आरोप लगाएको आरोपमा प्रहरीले ब्युरोले उनीमाथि अनुसन्धान सुरु गरेको हो । केसी विरुद्ध प्रहरीमा दासीले जाहेरी दिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

सो अन्तर्वार्ता युट्युबमा प्रसारण भएको छ । केसीलाई हाजिर जमानीमा राखेर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दिलीप गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘हिरासतमा राखेका छैनौँ, हाजिर जमानीमा राखेर अनुसन्धान भइरहेको छ ।’

वेदिकाले आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने गरेकी छन् । विराटनगर घर भएकी २२ वर्षीया वेदिका विराटनगरकी स्थानीय हुन् । उनले सामाजिक सञ्जालमार्फत विद्युतीय अपराध सम्बन्धी कसुर गरेको अनुसन्धानबाट थाहा भएको एसपी गिरीले बताए ।

उनले प्लस टु सम्म अध्ययन गरेकी छन् । उनले धामी, झाँक्री र अन्धविश्वास विरुद्ध सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै आएकी छन् । उनले धामी, झाँक्री र माताहरूलाई ‘ढोँगी’ को संज्ञा दिँदै उनीहरु विरुद्ध अन्धविश्वासको लडाइँ लडेको दाबी गर्दै आएकी छन् ।

कथावाचिका दासीलाई उनले व्यक्तिगत विषयमा लान्छना लगाएकी थिइन् । विद्युतीय कारोबार ऐन अनुसार विद्युतीय माध्यम मार्फत कसैलाई अनर्गतल लाञ्छना लगाउन पाइँदैन् । त्यस्तो लाञ्छना लगाउँदा विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने कानुनी व्यवस्था छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु