काठमाडौं – नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउन ११ गते उद्घाटन गर्ने तयारीगरिएको छ। सडक विभागअन्तर्गतको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले उद्घाटनका लागि आवश्यक तयारी अन्तिम चरणमापुगेको जनाएको छ।
आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार उद्घाटनको प्रस्ताव पूर्वाधार विकासमन्त्रालयमा पठाइसकिएको छ। मन्त्रालयबाट स्वीकृति प्राप्त भए साउन ११ गते नै सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा ल्याइनेछ।
काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्म फैलिएको सुरुङमार्गको कुल लम्बाइ २ हजार ६८८ मिटर रहेको छ। प्रारम्भिक सम्झौताअनुसार आयोजना २६ अप्रिल २०२३ भित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती तथास्थानीय अवरोधका कारण निर्माण कार्य निर्धारित समयमा पूरा हुन सकेको थिएन।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गतेसुरुङमार्गको शिलान्यास गरेका थिए। जापानी कम्पनी हाजमा कर्पोरेशनले निर्माण गरेको यो आयोजना **जाइका (JICA)**को करिब १६ अर्ब रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानीसहित करिब २२ अर्ब रुपैयाँको लागतमा सम्पन्न भएको हो।
सञ्चालन, व्यवस्थापन तथा पाँच वर्षसम्मको मर्मतसम्भारकोजिम्मेवारी युसिन–एआरटी जेभीले १ अर्ब १० करोड रुपैयाँमा पाएको छ। युसिन चिनियाँ कम्पनी हो भने एआरटी नेपाली कम्पनी हो।
सुरुङमार्गमा सवारीसाधनबाट नगद, क्यूआर कोड तथा आरएफआईडी (RFID) प्रणालीमार्फत शुल्क तिर्न सकिने व्यवस्था गरिएको आयोजनाले जनाएको छ। डिजिटल भुक्तानी प्रणाली सञ्चालनका लागि एक निजी वाणिज्य बैंकसँग सम्झौता पनि भइसकेको छ।
सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि वर्गअनुसार शुल्क निर्धारण गरिसकेको छ। कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीले काठमाडौं प्रवेश गर्दा रु. ६५ र बाहिरिँदा रु. ६० तिर्नुपर्नेछ। मिनीबस, मिनी टिपर तथा ट्रकका लागि प्रवेश शुल्क रु. ११५ र बाहिरिने शुल्क रु. ८०तोकिएको छ।
त्यस्तै, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि काठमाडौंप्रवेश गर्दा रु. २६० र बाहिरिँदा रु. २०० शुल्क लाग्नेछ। मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश शुल्क रु. ६०० र बाहिरिने शुल्क रु. २५० निर्धारण गरिएको छ।
आयोजनाका अनुसार पेट्रोलियम पदार्थ, ग्यासलगायत अत्यधिकप्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन, दुईपांग्रे मोटरसाइकल तथा तीनपांग्रे सवारीलाई भने सुरुङमार्गमा प्रवेशगर्न अनुमति दिइने छैन।


