चितवन — संयुक्त विद्यार्थी संगठन, चितवनले विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय, चितवनमा ज्ञापनपत्र बुझाएको छ।
भरतपुर महानगरपालिकालाई बुझाइएको ज्ञापनपत्रमा निजी शैक्षिक संस्थाले असुलेको अतिरिक्त तथा गैरकानुनी शुल्क अभिभावकलाई फिर्ता गराउन, नक्सा पास नगरी निर्माण गरिएका निजी विद्यालय तथा कलेजका भवनहरूको अनुगमन गरी कानुनबमोजिम कारबाही गर्न तथा निजी विद्यालय–कलेजले वितरण गर्ने छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको नामावली सूचना पाटी, आधिकारिक वेबसाइट र अन्य माध्यमबाट अनिवार्य रूपमा सार्वजनिक गर्न माग गरिएको छ।
त्यसैगरी विद्यालय बसहरूको नियमित अनुगमन गरी सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने, मापदण्डविपरीत सञ्चालन हुने, ध्वनि प्रदूषण गर्ने तथा तीव्र गतिमा चल्ने बसमाथि कडा कारबाही गर्न पनि संगठनले माग गरेको छ।
ज्ञापनपत्रमा नारायणी पुलमा बढ्दो आत्महत्याका घटनालाई नियन्त्रण गर्न उच्चस्तरीय सिसिटिभी, सुरक्षा निगरानी प्रणाली, सेफ्टी नेट तथा चौबीसै घण्टा सुरक्षा व्यवस्था मिलाउन आग्रह गरिएको छ। साथै एसियन हाइवेअन्तर्गतको सिक्स लेन सडकमा अनावश्यक रूपमा खोलिएका कटहरू बन्द गरी आवश्यक ओभरपास तथा अन्डरपास निर्माण नभएसम्म संवेदनशील क्षेत्रमा गति सीमा कडाइका साथ लागू गर्न, सडक किनारका दृश्यता अवरुद्ध गर्ने बोटबिरुवाको व्यवस्थापन गर्न तथा ठेक्का अवधि सकिँदासमेत सम्पन्न नभएको ट्राफिक बत्ती निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गरिएको छ।
जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको ज्ञापनपत्रमा सार्वजनिक यातायात तथा मनोरञ्जन क्षेत्रमा विद्यार्थीलाई कानुनबमोजिम ४५ प्रतिशत सहुलियत अनिवार्य रूपमा कार्यान्वयन गराउन, नारायणी पुलको सुरक्षा व्यवस्था सुदृढ बनाउन, सिक्स लेन सडकको सुरक्षित व्यवस्थापन गर्न, सडक किनारका बोटबिरुवाको व्यवस्थापन गर्न तथा ट्राफिक बत्ती निर्माण कार्य शीघ्र सम्पन्न गर्न माग गरिएको छ।
यसैगरी श्रावण महिनामा देवघाटधाममा आउने भक्तजन तथा पर्यटकको सुरक्षाका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सहायता तथा आवश्यक जनशक्ति परिचालन गर्न र विद्यालय बसहरूको प्रभावकारी अनुगमनमार्फत विद्यार्थीको सुरक्षित आवतजावत सुनिश्चित गर्न पनि संगठनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
संयुक्त विद्यार्थी संगठनले ज्ञापनपत्रमा समेटिएका मागहरू विद्यार्थी, अभिभावक तथा आम नागरिकको हितसँग प्रत्यक्ष जोडिएका विषय भएकाले यथाशीघ्र आवश्यक निर्णय गरी प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
उक्त ज्ञापनपत्रमा नेपाल विद्यार्थी संघका अध्यक्ष प्रकाश भण्डारी, अनेरास्ववियुका संयोजक अमित आचार्य, अखिल (क्रान्तिकारी)का अध्यक्ष सुशिल कार्की ‘अब्दुल’, अखिल (समाजवादी)का संयोजक महेश सी., वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालका अध्यक्ष अर्जुन फुयाँल तथा लोकतान्त्रिक विद्यार्थी संघका संयोजक कलाम परवेज मन्सुरको हस्ताक्षर रहेको छ।


