ठूलो दुर्घटना कुर्दै महालक्ष्मी नगरपालिका? सिद्धिपुर–ठैव सडकमा दिनहुँ जोखिमपूर्ण यात्रा

ललितपुर – महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका जोड्ने महत्वपूर्ण सिद्धिपुर–ठैव सडक अहिले सडक नभई जनताको ज्यान जोखिममा पार्ने ‘मृत्युको पासो’ बन्दै गएको छ। सडकको दयनीय अवस्थाले स्थानीयवासीदेखि दैनिक आवतजावत गर्ने यात्रुसम्मलाई त्रसित बनाएको छ।

पानी परेपछि सडक आफैं हिलाम्य र चिप्लो बनेको अवस्थामा त्यसलाई व्यवस्थित र सुरक्षित बनाउनुको सट्टा सडकमा थप हिलो र माटो थुपारेर झन् जोखिमपूर्ण बनाइएको स्थानीयको गुनासो छ। सडकको अवस्था अहिले यस्तो छ कि पैदल यात्रुले एक कदम चाल्दा पनि लडिन्छ कि, खुट्टा भाँचिन्छ कि, गम्भीर दुर्घटनामा परिन्छ कि भन्ने त्रासमा यात्रा गर्नुपर्ने बाध्यता छ।

दुईपाङ्ग्रे सवारीसाधनका लागि त यो सडक झन् ठूलो चुनौती बनेको छ। स्थानीयका अनुसार दिनहुँजसो मोटरसाइकल तथा स्कुटर चालकहरू चिप्लिएर लड्ने गरेका छन्। कतिपय यात्रु सामान्य चोटपटकबाट जोगिए पनि सडकको यही अवस्था कायम रहे कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने जोखिम बढ्दै गएको छ।

सडक कि धान रोप्ने खेत?
पानी पर्दा हिलाम्य, घाम लाग्दा धुलाम्य—सिद्धिपुर–ठैव सडकको अवस्था वर्षौंदेखि उस्तै छ। अहिले त सडकमा थप माटो थुपारिएपछि अवस्था झन् भयावह बनेको स्थानीयको आरोप छ।

स्थानीय व्यंग्य गर्छन् “यो सडकमा अब गाडी चलाउने कि धान रोप्ने?”
सडकको अवस्था हेर्दा यात्रुहरूले सहज रूपमा यात्रा गर्नेभन्दा पनि सन्तुलन जोगाएर ज्यान बचाउने चुनौती सामना गर्नुपरेको छ।
न पैदल यात्रुलाई सहज छ, न मोटरसाइकल चालकलाई।
न स्थानीयलाई सहज छ, न व्यवसायीलाई।
न विद्यार्थीलाई सहज छ, न बिरामी बोकेर हिँड्ने एम्बुलेन्सलाई।

तर प्रश्न भने थुप्रीएको छ
आखिर यो सडकमा सहज कसलाई भयो?
जनतालाई भएन,यात्रुलाई भएन,सवारी चालकलाई भएन।
त्यसो भए सहज कसलाई भयो?
कुर्सीमा बसेर जनताको समस्या नदेख्ने जिम्मेवार व्यक्तिहरूलाई?

ठूलो दुर्घटना भएपछि मात्र खुल्ने हो नगरपालिकाको आँखा?
स्थानीयको सबैभन्दा गम्भीर प्रश्न यही छ। हरेक दिनजसो दुर्घटनाको जोखिम बढिरहेको छ। मोटरसाइकल चालकहरू लडिरहेका छन्। पैदल यात्रुहरू चिप्लिरहेका छन्। सडकमा हिँड्दा ज्यान जोगाउने कि गन्तव्य पुग्ने भन्ने चिन्ता छ।
तर सम्बन्धित निकाय भने अझै पनि मौन देखिन्छ।
स्थानीय आक्रोशित हुँदै प्रश्न गर्छन् “के यही सडकमा कसैको ज्यान गएपछि मात्र नगरपालिका जाग्ने हो?”
“ठूलो दुर्घटना भएपछि मात्र जिम्मेवार व्यक्तिहरू घटनास्थलमा पुग्ने हुन्?”
“जनताको ज्यान बचाउनभन्दा दुर्घटनापछि शोक वक्तव्य निकाल्नु नै नगरपालिकाको प्राथमिकता हो?”
दुर्घटना भएपछि उद्धार, उपचार र श्रद्धाञ्जली दिनुभन्दा दुर्घटना नै हुन नदिनु स्थानीय सरकारको पहिलो जिम्मेवारी होइन र?

स्थानीयले महालक्ष्मी नगरपालिकाका प्रमुख तथा सम्बन्धित जनप्रतिनिधिलाई एकपटक सरकारी गाडी छाडेर यही सडकमा पैदल हिँड्न चुनौती दिएका छन्। एसी भएको गाडीमा बसेर सडकको अवस्था बुझिँदैन।
कार्यालयको कुर्सीमा बसेर जनताको पीडा महसुस हुँदैन।
फेसबुकको पोस्ट हेरेर सडकको वास्तविक अवस्था थाहा हुँदैन।
एकपटक यही सडकमा पैदल हिँड्नुस्।
एकपटक मोटरसाइकल चढेर यात्रा गर्नुस्।
एकपटक पानी परेको दिन यही बाटो पार गर्नुस्।
त्यसपछि मात्र थाहा हुनेछ जनता विकासको नाममा कस्तो ‘जोखिमको यात्रा’ गर्न बाध्य छन्।

विकास फेसबुकमा होइन, सडकमा देखिनुपर्छ
जनप्रतिनिधिहरूले विकासका ठूला–ठूला दाबी गर्न सक्छन्। सामाजिक सञ्जालमा विकासका तस्वीर राख्न सक्छन्। ब्यानर टाँग्न सक्छन्। उद्घाटनका रिबन काट्न सक्छन्।
तर जनताले प्रश्न गरिरहेका छन् “हामीले हिँड्ने सडक कहाँ छ?”
विकास भाषणमा होइन,विकास ब्यानरमा होइन,विकास फेसबुक पोस्टमा होइन,विकास उद्घाटनको तस्वीरमा होइन।
विकास त जनताले सुरक्षित रूपमा यात्रा गर्न पाउने सडकमा देखिनुपर्छ। यदि एउटा महत्वपूर्ण सडकमा हिँड्न पनि नागरिकले लडिन्छ कि, घाइते भइन्छ कि, ज्यानै जान्छ कि भनेर सोच्नुपर्ने अवस्था छ भने विकासका ठूलाठूला दाबीको अर्थ के?

सिद्धिपुर–ठैव सडक कहिले मुस्कुराउने?
कहिले यो सडकले हिलो र खाल्डाखुल्डीबाट मुक्ति पाउने?
कहिले मोटरसाइकल चालकले ढुक्क भएर यात्रा गर्ने?
कहिले पैदल यात्रुले लड्ने डरबिना हिँड्ने?
कहिले विद्यार्थी र वृद्धवृद्धाले सुरक्षित यात्रा गर्ने?
कहिले बिरामी बोकेका सवारीसाधनले सहज रूपमा आवतजावत गर्ने?

यी प्रश्नहरू वर्षौंदेखि अनुत्तरित छन्।
सिद्धिपुर–ठैव सडक अहिले पनि ठूलो दुर्घटनाको सम्भावना बोकेर उभिएको छ। दुर्घटना हुनुअघि नै सम्बन्धित निकायले गम्भीर कदम चाल्न नसके भोलि हुने सम्भावित मानवीय क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न झन् गम्भीर बन्दै गएको छ।

अब पनि मौन बस्ने कि जिम्मेवारी लिने?
महालक्ष्मी नगरपालिका र सम्बन्धित निकायले अब पनि आँखा चिम्लिएर बस्ने हो भने जनताको आक्रोश झन् चर्किने निश्चित छ। जनताको ज्यान जोखिममा छ,सडक जोखिममा छ,दैनिक आवतजावत जोखिममा छ। अब चाहिएको फोटो खिच्ने कार्यक्रम होइन तत्काल काम हो। अब चाहिएको भाषण होइन सडक सुधार हो।अब चाहिएको प्रतिबद्धता होइन कार्यान्वयन हो।

अझ “कति जना लड्नुपर्ने हो? कति जना घाइते हुनुपर्ने हो? अनि कति ठूलो दुर्घटना भएपछि मात्र नगरपालिका जिम्मेवार बन्ने हो?”

समयमै चेत जनताको ज्यानभन्दा ठूलो कुनै विकास, कुनै प्रचार र कुनै राजनीतिक प्राथमिकता हुन सक्दैन।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु