चितवन – चितवनको भरतपुर महानगरपालिका–१५, मनकामना चोकमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार साउन ५ गते राति करिब ९ बजे ना४च १०३८ नम्बरको बलेरोले बा.प्र.०३–००४ प ६२३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई फरार भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक तनहुँ घर भई हाल भरतपुर महानगरपालिका–५ मा डेरा गरी बस्ने ३२ वर्षीय सुजन गुरुङ गम्भीर घाइते भएका हुन्।
दुर्घटनामा गुरुङको टाउको र अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको थियो।
घटनापछि फरार रहेको बलेरो र चालकको खोजी गर्ने क्रममा प्रहरीले साउन ६ गते भरतपुर महानगरपालिका–१६, विजयनगर निवासी ३१ वर्षीय जीबन्त सुबेदीलाई बलेरोसहित नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


