चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस एकआपसमा ठक्कर खाँदा सडक आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। आज बिहानदेखि सञ्चालनमा आएको सडक उक्त दुर्घटनाका कारण पुनः अबरुद्ध हुन पुगेको छ।
सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी १० बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहानैदेखि रोक हटाई सडक सुचारु गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्।
सडक डिभिजन भरतपुरले दिएको जानकारी अनुसार अहिले सडक खुलाउने प्रयास भइरहेको छ। सडकमा सवारीको चाप बढ्नसक्ने भन्दै डिभिजनले चालकहरूलाई हतार नगर्न, सीमित गतिमा सवारी चलाउन र अनिवार्य रूपमा लेन अनुशासन पालन गर्न अनुरोध गरेको छ।
अवरुद्ध सडक केही समयमा खुल्ने अपेक्षा गरिएको छ, तर वर्षा र चापका कारण यात्रा गर्दा विशेष सतर्कता अपनाउन प्रहरी र सडक विभागले आग्रह गरेका छन्।


