‘गौँथली’को बम्पर सुरुआत, देशभर थपिए शो

काठमाडौं –  साउन १ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले बक्स अफिसमा उत्साहजनक सुरुआत गरेको छ । मनसुनी वर्षाको समेत पर्वाह नगरी दर्शक हलमा पुगेपछि फिल्मले पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रिया पाएको हो ।

पहिलो दिन बम्पर ओपनिङ गरेको फिल्मले दोस्रो दिन शनिबार पनि दर्शकको उल्लेखनीय साथ पाएको छ । बिहानैदेखि देशभरका अधिकांश हलमा दर्शकको राम्रो उपस्थिति देखिएपछि विभिन्न मल्टिप्लेक्स तथा मोफसलका हलहरूले शो संख्या बढाएका छन् ।

फिल्मका वितरक करण श्रेष्ठका अनुसार पहिलो दिन प्राप्त सकारात्मक प्रतिक्रियापछि हल सञ्चालकहरूले दर्शकको मागअनुसार अतिरिक्त शो थपेका छन् ।

उनले भने, ‘पहिलो दिन हामीले दुई सयभन्दा बढी शो पाएका थियौँ । दोस्रो दिन त्यो संख्या उल्लेखनीय रूपमा बढेको छ । दर्शकले फिल्म रुचाएपछि देशभर अकुपेन्सी पनि उच्च रहेको छ ।’

फिल्मको प्रतिक्रिया बुझ्न विभिन्न हलमा पुगेका निर्माता, निर्देशक तथा कलाकारलाई दर्शकले उत्कृष्ट फिल्म हेर्न पाएको भन्दै धन्यवाद दिएका छन् । दर्शकले फिल्मको विषयवस्तु, कलाकारहरूको अभिनय र समाजलाई दिएको सन्देशको खुलेर प्रशंसा गरेका छन् । विशेषगरी ‘गौँथली’ पात्रको संघर्ष र छोरीको शिक्षाको महत्त्वले आफूहरूलाई गहिरो रूपमा छोएको प्रतिक्रिया अधिकांश दर्शकले दिएका छन् ।

निर्देशक डा. कपिल रिजालले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले सम्पूर्ण टिम उत्साहित बनेको बताए । उनले भने, ‘हामी शुक्रबार बिहानदेखि विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ। फिल्ममार्फत दिन खोजेको सन्देश दर्शकले बुझ्नुभएको छ। ‘गौँथली’को संघर्षलाई उहाँहरूले महसुस गर्नुभएको छ, यही हाम्रो सफलता हो ।’

अभिनेता अरुण क्षेत्रीले दर्शकले आफ्नो पात्रलाई अत्यधिक माया गरेको बताए। उनले फिल्ममा आफूले बोलेको चर्चित संवाद ‘गाईको घ्यू, आई लभ यू’ दोहो¥याउँदै दर्शकले फिल्मको खुलेर प्रशंसा गरेको उल्लेख गरे।

उनले भने, ‘यो मेरो करिअरकै सबैभन्दा चुनौतीपूर्ण पात्र थियो। दर्शकले पात्रसँग भावनात्मक रूपमा जोडिनुभएको छ, यही हाम्रो उपलब्धि हो ।’

‘गौँथली’को शीर्ष भूमिकामा रहेकी अभिनेत्री सिम्रन खड्काले पनि दर्शकले आफूलाई छोरीझैँ माया गर्दै पात्रसँग भावनात्मक रूपमा जोडिएको प्रतिक्रिया दिएको बताइन्।

उनले भनिन्, ‘धेरैले ‘गौँथली’को संघर्ष आफ्नै जीवनसँग मिलेको महसुस गर्नुभएको छ। यही प्रतिक्रिया हाम्रो लागि सबैभन्दा ठूलो पुरस्कार हो ।’

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।  डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु