“एसपी पाठकको नेतृत्वमा पर्सा प्रहरीको ऐतिहासिक सफलता”

वीरगञ्ज : खुला सीमाका कारण तस्करी, लागूऔषध कारोबार, हुण्डी, राजस्व छली र विभिन्न प्रकारका आपराधिक गतिविधिका दृष्टिले संवेदनशील मानिने पर्सा जिल्लामा पछिल्लो समय प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो १० महिनामा जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको कार्यसम्पादन विवरणले अपराध नियन्त्रणदेखि अदालतका फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण, हुण्डी कारोबार नियन्त्रण तथा भन्सार छलीविरुद्धका अभियानमा प्रभावकारी उपलब्धि हासिल भएको देखाएको छ।

प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा ६२ करोड ९६ लाख ३२ हजार ६९ रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिइएको छ। त्यसैगरी १ हजार २७ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने उनीहरूबाट १७० वर्ष ५ महिना १ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै ८ करोड २६ लाख ३ हजार ७१५ रुपैयाँ जरिवाना असुल गरिएको छ। यी तथ्यांकले अपराध नियन्त्रण मात्र होइन, कानुनी शासन कार्यान्वयनमा पनि पर्सा प्रहरीले उल्लेखनीय प्रगति गरेको संकेत गर्छ।

सीमावर्ती जिल्ला भएकाले पर्सा लामो समयदेखि चोरी पैठारी, भन्सार छली, हुण्डी कारोबार तथा लागूऔषध ओसारपसारको प्रमुख मार्गका रूपमा चिनिँदै आएको छ। खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध कारोबारले राज्यको राजस्वमा क्षति पुर्‍याउनुका साथै संगठित अपराधलाई समेत प्रश्रय दिने गरेको सुरक्षा निकायको निष्कर्ष रहँदै आएको छ। यही चुनौतीलाई केन्द्रमा राख्दै जिल्ला प्रहरी कार्यालय पर्साले सूचना–आधारित निगरानी, नियमित चेकजाँच, विशेष अपरेसन तथा अन्तरनिकाय समन्वयलाई तीव्र बनाएको जनाएको छ।

प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठक को नेतृत्वमा सञ्चालन गरिएका सुरक्षा अभियानहरूले छोटो अवधिमै परिणाम दिन थालेको प्रहरी अधिकारीहरूको दाबी छ। प्रहरी स्रोतका अनुसार कार्यालयले केवल घटना भएपछि कारबाही गर्ने शैलीमा सीमित नरही सम्भावित अपराधको पूर्वसूचना संकलन, जोखिम विश्लेषण, संवेदनशील क्षेत्रको पहिचान तथा रणनीतिक परिचालनलाई प्राथमिकतामा राखेको छ। यही कार्यशैलीका कारण विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल भएको बताइएको छ।

फैसला कार्यान्वयनमा उल्लेखनीय प्रगति

नेपालमा अदालतबाट फैसला भए पनि वर्षौंसम्म फरार रहने प्रतिवादीहरूको संख्या ठूलो चुनौतीका रूपमा रहने गरेको छ। तर पर्सा प्रहरीले फैसला कार्यान्वयन अभियानलाई विशेष प्राथमिकता दिँदै फरार अभियुक्तहरूको खोजीलाई तीव्र बनाएको जनाएको छ।

यस अवधिमा १ हजार २७ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १७० वर्ष ५ महिना १ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ८ करोड २६ लाख ३ हजार ७१५ रुपैयाँ जरिवाना समेत असुल गरिएको छ। यसलाई अदालतका आदेश कार्यान्वयन र कानुनी शासन सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

हुण्डी कारोबारमाथि कडा निगरानी

अनौपचारिक माध्यमबाट हुने रकम कारोबार अर्थात् हुण्डीले राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने भएकाले प्रहरीले यसलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।
१० महिनाको अवधिमा ८ वटा हुण्डी सम्बन्धी मुद्दा दर्ता गरिएको छ भने १२ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ५३ लाख २१ हजार ४७० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तो कारोबारले कर प्रणालीलाई कमजोर बनाउनुका साथै आपराधिक सञ्जाललाई समेत सहयोग पुग्ने भएकाले नियन्त्रण अभियान निरन्तर जारी रहने प्रहरीको भनाइ छ।

तस्करीविरुद्ध सबैभन्दा ठूलो उपलब्धि

पर्सा प्रहरीको कार्यसम्पादन विवरणमा सबैभन्दा उल्लेखनीय पक्ष भनेको भन्सार छली तथा चोरी पैठारी नियन्त्रण हो।
यस अवधिमा प्रहरीले ६२ करोड ९६ लाख ३२ हजार ६९ रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ। कारबाहीका क्रममा ७ जना पक्राउ परेका छन् भने ७२ वटा सवारीसाधन समेत नियन्त्रणमा लिइएको छ।

राजस्व छली रोक्नु केवल कानुन कार्यान्वयनको विषय मात्र नभई राज्यको आर्थिक हितसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस्तो कारबाहीले सरकारी राजस्व संरक्षणमा समेत योगदान पुगेको सुरक्षा विश्लेषकहरूको भनाइ छ।

लागूऔषध कारोबारविरुद्ध निरन्तर अभियान

खुला सीमाका कारण पर्सा लागूऔषध ओसारपसारको जोखिमयुक्त जिल्लामध्ये एक मानिन्छ। यही अवस्थालाई ध्यानमा राख्दै प्रहरीले लागूऔषध नियन्त्रणलाई पनि उच्च प्राथमिकतामा राखेको जनाएको छ।
१० महिनाको अवधिमा ९७ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी १७ जना (१० पुरुष र ७ महिला) पक्राउ गरिएको छ।

बरामद भएका लागूऔषधमध्ये २,०३० किलो ७८६ ग्राम गाँजा, २७३ किलो २९ ग्राम चरेश, १०० ग्राम २८० मिलिग्राम ब्राउन सुगर, फेनारगन १५० एम्पुल, डाइजेपाम ३५० एम्पुल, प्रोमेथाजाइन २०० एम्पुल, ब्युनोर्फिन ३५० एम्पुल, कोरेक्स १ बोतल, ट्रामाडोल २ लाख ३४ हजार ७८ क्याप्सुल, नाइट्राजेपाम २८८ ट्याब्लेट तथा नाइट्राभेट ११ हजार ९४ पिस रहेका छन्।
एसपी पाठकका अनुसार लागूऔषध नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी बढाइनुका साथै सूचना संकलन, आकस्मिक चेकिङ र विशेष टोली परिचालनलाई निरन्तरता दिइएको छ।

समुदायसँग सहकार्य पनि प्राथमिकतामा

प्रहरीले अपराध नियन्त्रण केवल पक्राउ र कारबाहीबाट मात्र सम्भव नहुने निष्कर्ष निकाल्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई समेत प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ। विद्यालय, स्थानीय तह, व्यवसायी, नागरिक समाज तथा विभिन्न सरोकारवालासँगको सहकार्य विस्तार गरिएकाले अपराध न्यूनीकरणमा सकारात्मक प्रभाव परेको प्रहरीको दाबी छ।

नेतृत्व र व्यवस्थापनको प्रभाव

प्रहरी संगठनमा नेतृत्वको भूमिका केवल निर्देशन दिनुमा सीमित हुँदैन, उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन, जनशक्ति व्यवस्थापन, सूचना विश्लेषण, अन्तरनिकाय समन्वय र नतिजामुखी कार्यशैली पनि उत्तिकै महत्वपूर्ण हुन्छ। पर्सा प्रहरीको पछिल्लो कार्यसम्पादनमा यी पक्षहरू देखिएको भन्दै प्रहरी वृत्तमा समेत चर्चा हुने गरेको छ।

प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक ले अपराध नियन्त्रण, कानुन कार्यान्वयन, राजस्व संरक्षण तथा नागरिक सुरक्षालाई समान प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै आएका छन्। उनका अनुसार अपराधी जुनसुकै समूह वा प्रभावका भए पनि कानुनको दायरामा ल्याउने नीति अनुरूप प्रहरी परिचालित भइरहेको छ।

मधेश प्रदेशमै उत्कृष्ट कार्यसम्पादन

जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको कार्यसम्पादनका आधारमा कार्यालय मधेश प्रदेशभित्र उत्कृष्ट प्रहरी कार्यालयका रूपमा स्थापित भएको जनाएको छ। प्रहरीका अनुसार यो उपलब्धि कुनै एक व्यक्तिको नभई सम्पूर्ण प्रहरी संगठन, मातहतका इकाइ, सुरक्षा साझेदार निकाय र नागरिकको सहयोगको परिणाम हो।

प्रहरीले आगामी दिनमा पनि सीमा क्षेत्रमा निगरानी थप प्रभावकारी बनाउने, तस्करी, लागूऔषध, हुण्डी, साइबर अपराध तथा अन्य संगठित अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने जनाएको छ।

१० महिनाको कार्यसम्पादनले पर्सा प्रहरीले केवल तथ्यांकमा सफलता हासिल गरेको मात्र होइन, कानुनी शासनको कार्यान्वयन, राज्यको राजस्व संरक्षण, अदालतका फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण तथा सीमावर्ती जिल्लाको सुरक्षा व्यवस्थापनमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी गरेको छ। यिनै उपलब्धिहरूका कारण पर्सा प्रहरीको पछिल्लो कार्यशैली मधेश प्रदेशमा उदाहरणीय बन्दै गएको प्रहरीको भनाइ छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु