पहिरोको कहर: जाजरकोट र दोलखामा दुईको मृत्यु

एटुजेड समाचार

काठमाडौं : जाजरकोटको भेरी नगरपालिका–२, राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिँदा एकवृद्धाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हिजो साँझ करिब ७ बजे घरमाथिबाट खसेको पहिरोले टहरा पुरिँदा ७१ वर्षीया वृद्धा जसीकुमारी शाहीको मृत्यु भएको हो।

घटनामा कुशे गाउँपालिका–५, दमदालाकी ३५ वर्षीया सीता शाह थापा र उनकी सात वर्षीया छोरी मेनुका थापा घाइते भएका छन्।  स्थानीयले घाइते आमा–छोरीको उद्धार गरेका हुन् । उद्धार गरिएका सीता र मेनुका मृतक शाहीकी छोरी र नातिनी प्रहरीले जनाएको छ।

जाजरकोट भूकम्पपछि घर भत्किएपछि उनीहरू सरकारले निर्माण गरिदिएको अस्थायी टहरामा बस्दै आएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पाँचकाटियाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

यस्तै दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याम्पोलमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। आइतबार राति ९ बजे क्याम्पोल हेलेकपाथलीमा माइतबाट घर फर्कने क्रममा सडकमाथिबाट आएको पहिरोमा परेर ४ महिनाकी नाबालिका एलिसा थामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परेर उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्। पहिरोमा परेका आमा–छोरीको स्थानीयले राति नै उद्धार गरेर दोलखा धुलिखेल अस्पताल ल्याएका थिए। अस्पताल ल्याउने क्रममा नाबालिकाको बाटोमै मृत्यु भएको र गम्भीर घाइते आमा शर्मिलालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु