प्रहरीको कुटपिट तथा धरपकडमा घाइते भएका जेनजी अभियन्ता तथा अधिवक्ता माजिद अन्सारीलाई थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज रिफर गरिएको छ।
प्रहरीको कुटपिटका क्रममा अन्सारीको टाउको र अनुहारमा बुटले प्रहार गरिएकाले अनुहार तथा शरीरको माथिल्लो भागमा गम्भीर चोट लागेको जनाइएको छ।
घटनापछि उनलाई प्रारम्भिक उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। त्यहाँ भिडियो एक्स–रेसहित आवश्यक स्वास्थ्य परीक्षण गरेपछि थप उपचारका लागि शिक्षण अस्पताल पठाइएको जेनजी अभियन्ता तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
शनिबार दिउँसो कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरू माजिद अन्सारी, मोनिका निरौला, रीया बानियाँ र सरिस्मा थापामाथि प्रहरीले कुटपिट तथा धरपकड गरेको आरोप छ। उक्त घटनामा माजिद अन्सारी घाइते भएका हुन्।
घटनाबारे प्रहरीले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।


