काठमाडौँ : सर्लाहीको गोडैता नगरपालिकामा एकजनाले आत्मदाहको प्रयास गरेका छन्।
गोडैता नगरपालिका १० का ४२ वर्षीय विवेक मण्डलले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्।
करिब दिउँसो २ः३० बजेतिर उनले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए। घरको करिब २०० मिटर पूर्वमा उनले आफूलाई आगो लगाएका हुन्। घटनाको केही समयमै स्थानीयसहित प्रहरीले उद्धार गरी उनलाई मलंगवा अस्पताल लगिएको थियो।
त्यहाँ सामान्य उपचारपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याउने तयारी भइरहेको डीएसपी गौतमले बताए।
परिवारका सदस्यलाई उद्धृत गर्दै प्रहरीले मण्डलको मानसिक समस्या रहेको जनाएको छ।


