उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान

एटुजेड समाचार

नारायणगढ –  भरतपुर अस्पतालले विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मत तथा प्राविधिक व्यवस्थापनपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आह्वान गरेको छ ।

विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले अस्पतालले त्यस्ता उपकरण हस्तान्तरण गर्न आग्रह गरेको हो । अस्पतालका प्रवक्ता सहप्राध्यापक डा. रामप्रसाद सापकोटाले अस्पतालको क्षमता अभिवृद्धि तथा डिजिटल रूपान्तरणको कार्य अघि बढाएकाले त्यस्ता उपकरण हस्तान्तरण भए सेवाप्रवाहलाई थप चुस्त तुल्याउन सहयोग पुग्ने बताए ।

अस्पतालले डायलाइसिस मेसिन, भेन्टिलेटर, बिरामी निगरानी (पेसेन्ट मोनिटर), अल्ट्रासोनोग्राफी (युएसजी) मेसिन, एक्स–रे मेसिन, इईजी मेसिनलगायतका उपकरण हस्तान्तरण गर्न इच्छुक सरकारी तथा निजी संस्था र व्यक्तिलाई सम्पर्क गर्न अनुरोध गरेको छ । उनले भने, “अस्पतालमा दैनिक बिरामीको चाप बढ्दो छ । अन्य सरकारी वा निजी संस्थामा प्रयोगमा नरहेका तर सञ्चालनयोग्य स्वास्थ्य उपकरण भए भरतपुर अस्पतालले उपयोग गर्छ ।”

दैनिक तीन हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिने भरतपुर अस्पतालमा हाल उपचारका लागि भर्ना हुने बिरामीका लागि नेपाल सरकारतर्फबाट ३०० र अस्पताल विकास समितिका तर्फबाट ३०० श्यया छ ।

विशेषज्ञ सेवा विस्तारसँगै आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको अस्पतालले जनाएको छ ।

facebook sharing button
twitter sharing button
email sharing button

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु