बर्दिया – इलाका प्रहरी कार्यालय ढोढरीका प्रमुख प्रहरी निरीक्षक शैलेन्द्र खड्काको नेतृत्वमा प्रहरीले सञ्चालन गरेको सशक्त निगरानी अभियानअन्तर्गत बर्दियामा अवैध भन्सार छली गरी ल्याइएका रु. ३२ लाख ६३ हजार ६ सय बराबरका विभिन्न सामानसहित एक मिनी ट्रक नियन्त्रणमा लिइएको छ। नियमित चेकजाँचलाई प्रभावकारी बनाउँदै प्रहरी निरीक्षक खड्काले सीमा क्षेत्र हुँदै हुने अवैध कारोबार नियन्त्रणमा कडाइ गरेपछि ठूलो परिमाणको भन्सार छलीको खेप पक्राउ परेको हो।
आज करिब १२:०० बजे मधुवन नगरपालिका–४ स्थित सडकखण्डमा प्रहरी निरीक्षक शैलेन्द्र खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले नियमित सवारी चेकजाँच गरिरहेको क्रममा कैलालीबाट तारातालतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ क १९९१ नम्बरको मिनी ट्रकलाई शंकाको आधारमा रोकेर खानतलासी गरेको थियो। जाँचका क्रममा ट्रकभित्र कुनै वैध भन्सार प्रक्रिया पूरा नगरी लुकाइछिपाइ ओसारपसार गरिएका ठूलो परिमाणका फेन्सी कपडा तथा अन्य सामग्री फेला परेपछि प्रहरीले सम्पूर्ण सामान नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उक्त ट्रक जिल्ला कैलाली, घोडाघोडी नगरपालिका–११, पहलमानपुर निवासी ४४ वर्षीय चुनु राम चौधरीले चलाइरहेका थिए। घटनामा संलग्न रहेको आरोपमा चालक चुनु राम चौधरीसँगै कैलालीको टिकापुर नगरपालिका–१, बगरैयागाउँ निवासी ३० वर्षीय अजय चौधरीलाई पनि नियन्त्रणमा लिइएको छ।
प्रहरी निरीक्षक शैलेन्द्र खड्काको नेतृत्वमा गरिएको प्रारम्भिक अनुसन्धानबाट बरामद सामान तथा मिनी ट्रकको अनुमानित कुल मूल्य रु. ३२,६३,६००/- रहेको खुलेको छ। नियन्त्रणमा लिइएका दुवै व्यक्ति, बरामद सामान तथा सवारी साधनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि भन्सार कार्यालय, गुलरियामा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक शैलेन्द्र खड्काले पछिल्लो समय सीमा क्षेत्र हुँदै हुने अवैध भन्सार छली, राजस्व चुहावट तथा गैरकानुनी ओसारपसार नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाएका छन्। त्यसैको परिणामस्वरूप ठूलो परिमाणको अवैध सामान नियन्त्रणमा लिन प्रहरी सफल भएको स्थानीय सुरक्षा अधिकारीहरूको भनाइ छ।
बरामद सामानमा २,३०९ थान टिसर्ट, १,१७० थान अन्डरवेयर, ९३८ थान विभिन्न प्रकारका प्लास्टिक रेनकोट, ४५८ थान जिन्स तथा कटन हाफ पाइन्ट, ४४४ थान फुल जिन्स तथा कटन पाइन्ट, ३३८ थान स्पोर्ट्स हाफ पाइन्ट, ३३१ थान ट्राउजर, ३३७ थान क्याप टोपी, २११ थान विभिन्न प्रकारका छाता, १७२ थान बेल्ट, १०० थान खादा, ४३ थान विन्ड चिटर तथा २९ थान टावल रहेका छन्।
प्रहरीले भन्सार छली तथा राजस्व चुहावट गर्ने समूहविरुद्ध निगरानी अझ कडा बनाइने स्पष्ट पार्दै यस्ता गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई कानुनको दायरामा ल्याई कडा कारबाही गरिने जनाएको छ। प्रहरी निरीक्षक शैलेन्द्र खड्काको नेतृत्वमा सञ्चालन भइरहेको अभियानले सीमा क्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरिरहेको प्रहरी स्रोतले जनाएको छ।


