सीपले मात्रै रोजगारी र आत्मनिर्भरता सम्भव : उपमेयर लक्ष्मी महर्जन

ललितपुर – महालक्ष्मी नगरपालिकाको युवा स्वरोजगार कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको २० दिने मोबाइल मर्मत तथा लेडिज–जेन्स हेयर कटिङ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय युवायुवतीलाई व्यावसायिक सीपमार्फत स्वरोजगार र उद्यमशीलतातर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको तालिमको समापन कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले सीप विकासलाई नगरपालिकाको प्राथमिकतामा राखेर निरन्तर कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो।

समापन कार्यक्रममा बोल्दै उपमेयर महर्जनले २० दिनसम्म प्रशिक्षार्थीहरूले गरेको मेहनत र लगनशीलताको प्रतिफल आज उनीहरूको हातमा आएको उल्लेख गर्दै अब प्रमाणपत्रभन्दा महत्वपूर्ण कुरा सिकेको सीपलाई व्यवहारमा उतार्नु रहेको बताउनुभयो। उहाँले सीप सिकेर मात्र नहुने, त्यसलाई व्यवसायमा रूपान्तरण गर्दै आर्थिक आत्मनिर्भरता हासिल गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “२० दिनको मेहनत र लगानीको नतिजा आज तपाईंहरूको हातमा आएको छ। अब यो उपलब्धिलाई प्रमाणपत्रमा सीमित नराखी जीवन परिवर्तन गर्ने माध्यम बनाउनुपर्छ। तालिममा सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर आफ्नै व्यवसाय सञ्चालन गर्न सक्नुभयो भने मात्रै यस कार्यक्रमको वास्तविक उद्देश्य पूरा हुनेछ।”

उपमेयर महर्जनले सीपविहीन शिक्षाले मात्र रोजगारीको सुनिश्चितता गर्न नसक्ने उल्लेख गर्दै आजको प्रतिस्पर्धी समयमा व्यावसायिक दक्षता अपरिहार्य भएको बताउनुभयो। विशेषगरी महिलाहरू आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बन्न प्रत्येक महिलासँग कम्तीमा एउटा व्यावसायिक सीप हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। महिलाको आर्थिक सशक्तीकरणले परिवारसँगै समग्र समाजको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

उहाँले तालिम लिएर प्रमाणपत्र थन्क्याउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै प्रशिक्षार्थीहरूलाई निरन्तर अभ्यासमार्फत दक्ष जनशक्ति बन्न आग्रह गर्नुभयो। आधारभूत तालिमले सुरुआत मात्र गर्ने भएकाले त्यसपछि पनि सीप अभिवृद्धि गर्दै आफूलाई समयअनुकूल परिष्कृत गर्नुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनुभयो।

उपमेयर महर्जनका अनुसार महालक्ष्मी नगरपालिकाले विगत चार वर्षदेखि युवाको क्षमता विकास, महिला सशक्तीकरण तथा बेरोजगारी न्यूनीकरणलाई केन्द्रमा राखेर विभिन्न सीपमूलक तथा रोजगारमुखी तालिम सञ्चालन गर्दै आएको छ। ती तालिमहरू औपचारिक कार्यक्रमका रूपमा नभई स्थानीय आवश्यकताअनुसार आयआर्जन र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उहाँले बताउनुभयो।

उहाँले तालिम सम्पन्न भएपछि पनि प्रशिक्षार्थीहरूलाई स्वरोजगार तथा रोजगारीसँग जोड्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ उन्नत र दक्षतामूलक तालिम सञ्चालन गरिने जानकारी दिनुभयो। “बेसिक तालिमले मात्रै हुँदैन। प्रतिस्पर्धी बजारमा टिक्न र सफल उद्यमी बन्न एड्भान्स तथा दक्षता अभिवृद्धि गर्ने तालिम आवश्यक हुन्छ। नगरपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजान्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा प्रशिक्षार्थीहरूको तर्फबाट मन्तव्य राख्दै सिर्जना गौतमले नगरपालिकाले सञ्चालन गरेको तालिमले आफूहरूलाई आत्मविश्वास र नयाँ अवसर दिएको बताउनुभयो। उहाँले आधारभूत तालिमपछि थप उन्नत तालिमको व्यवस्था गरिदिन आग्रह गर्दै निरन्तर अभ्यास र थप दक्षता हासिल गर्न सके मात्रै व्यवसायमा दीर्घकालीन सफलता प्राप्त गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

उहाँले महालक्ष्मी नगरपालिकाले सञ्चालन गरिरहेको “एक घर, एक सीप” अभियानलाई अत्यन्त प्रभावकारी कार्यक्रमको रूपमा चित्रण गर्दै यसले धेरै युवायुवती तथा महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो। उहाँका अनुसार उक्त अभियानले धेरै परिवारलाई सीप, रोजगारी, आत्मविश्वास र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ।

कार्यक्रममा प्रशिक्षकहरू, आयोजक टोली तथा सम्पूर्ण प्रशिक्षार्थीहरूको योगदानको उच्च प्रशंसा गर्दै सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा धन्यवाद तथा बधाई ज्ञापन गरिएको थियो। साथै, प्रशिक्षार्थीहरूलाई सिकेको सीपलाई व्यवहारमा उतार्दै आफ्नै व्यवसाय स्थापना गर्न, थप रोजगारी सिर्जना गर्न र सीपलाई उत्पादनसँग जोडेर समृद्ध समाज निर्माणमा योगदान पुर्‍याउन आग्रह गरिएको थियो।

समापन कार्यक्रममा उपमेयर महर्जनले “सीपयुक्त युवा, आत्मनिर्भर नागरिक र समृद्ध महालक्ष्मी” भन्ने नगरपालिकाको दीर्घकालीन लक्ष्यलाई साकार पार्न आगामी दिनमा पनि श्रम बजारको मागअनुसार गुणस्तरीय, व्यावहारिक र रोजगारमुखी तालिमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाले सीप विकासलाई केवल तालिममा सीमित नराखी उद्यमशीलता, स्वरोजगार र आर्थिक सशक्तीकरणसँग जोड्ने नीति अवलम्बन गर्दै जाने स्पष्ट पार्नुभयो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु