राप्तीको समिटार राष्ट्रिय माविका विद्यार्थीलाई अण्डा वितरण

एटुजेड समाचार

चितवन – पशु सेवा कार्यालय चितवनको आयोजना तथा नेपाल कुखुरा व्यवसायी मञ्चको सहआयोजनामा राप्ती नगरपालिका–१० स्थित राष्ट्रिय माध्यमिक विद्यालय, समिटारका विद्यार्थीहरूलाई अण्डा वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भरतलाल चेपाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपाने प्रमुख अतिथि, नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव डा. विष्णुहरि शर्मा विशिष्ट अतिथि तथा नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेल अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल तथा पशु सेवा कार्यालय चितवनका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो। विद्यालयका सहायक प्रधानाध्यापक दिनेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा सभापति भरतलाल चेपाङले स्वागत मन्तव्यसहित विद्यालयको वर्तमान अवस्था र शैक्षिक गतिविधिबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि डा. विष्णुहरि शर्माले अण्डामा पाइने पोषण तत्व, यसको नियमित सेवनबाट हुने स्वास्थ्य लाभ तथा सन्तुलित आहारमा अण्डाको महत्त्वबारे जानकारी गराउनुभयो। प्रमुख अतिथि डा. प्रभात न्यौपानेले अण्डा प्राकृतिक, पौष्टिक तथा मिसावट हुन नसक्ने खाद्य पदार्थ भएकाले जुनसुकै उमेर समूहका व्यक्तिले सुरक्षित रूपमा सेवन गर्न सक्ने बताउनुभयो। उहाँले पशु सेवा कार्यालय चितवनले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रम तथा पशुपन्छी क्षेत्रको विकासका लागि भइरहेका गतिविधिबारे समेत जानकारी दिनुभयो।

यस शैक्षिक वर्षमा राष्ट्रिय माध्यमिक विद्यालय, समिटारमा ४९१ जना विद्यार्थी भर्ना भएका छन्। सो अवसरमा विद्यार्थीहरूको पोषण अवस्थालाई थप सुदृढ बनाउन विद्यालयलाई २,७३० वटा अण्डा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु