बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित माडी क्याम्पसले शैक्षिक सत्र २०८३ का लागि ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन (BBA) र ब्याचलर अफ एजुकेशन (B.Ed.) कार्यक्रममा नयाँ विद्यार्थी भर्ना खुला गरेको छ ।
क्याम्पस प्रशासनका अनुसार यस वर्ष दूरदराज तथा देशका विभिन्न जिल्लाबाट अध्ययनका लागि आउने विद्यार्थीलाई लक्षित गर्दै पूर्ण रूपमा निःशुल्क छात्रबास (होस्टेल) को व्यवस्था समेत गरिनेछ ।
क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीका अनुसार गुणस्तरीय उच्च शिक्षा सहज र किफायती रूपमा उपलब्ध गराउने उद्देश्यले माडी क्याम्पसले आधुनिक शिक्षण वातावरणसँगै विद्यार्थीमैत्री सेवा–सुविधामा विशेष जोड दिएको छ ।
माडी क्याम्पसले सञ्चालन गरिरहेको BBA कार्यक्रम नेपालकै सबैभन्दा सस्तो शुल्कमा अध्ययन गर्न सकिने दाबी गरेको छ । क्याम्पसमा सेमेस्टर प्रणाली अन्तर्गत अध्ययन हुने तथा स्मार्ट बोर्ड, प्रोजेक्टर, सुसज्जित पुस्तकालय र प्रविधिमैत्री कक्षाकोठा मार्फत अनुभवी तथा दक्ष प्राध्यापकहरूले पठनपाठन गराउने व्यवस्था रहेको जनाइएको छ ।
त्यसैगरी, बाहिरी जिल्लाबाट आउने विद्यार्थीका लागि निःशुल्क होस्टेल सुविधा उपलब्ध गराइनेछ । क्याम्पस परिसरभित्रै सञ्चालित क्यान्टिनमार्फत सुलभ तथा किफायती खानपानको व्यवस्था गर्ने तयारी समेत गरिएको क्याम्पसले जनाएको छ ।


