चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सक्षम नेतृत्व चयन गर्न कडा मापदण्ड लागू गरेको छ।योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले निर्वाचन सम्बन्धी नियममा कडाइ गरिएको हो। निर्वाचन प्रक्रियाअनुसार सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि एक/एक जना प्रस्तावक अनिवार्य गरिएको छ। त्यस्तै, सभापतिका लागि ५१ जना समर्थक र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि २१/२१ जना समर्थक अनिवार्य हुनुपर्ने व्यवस्था छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रस्तावक र समर्थक दुवै उम्मेदवार स्वयं हुन नपाउने नियम बनाइएको छ। उनले भने, ‘नेतृत्व विकास भएका सक्षम व्यक्तिलाई जिम्मेवारी दिन यो नियम राखिएको हो।’देशकै ठुलो पार्टीका रूपमा रास्वपाको सङ्गठन सञ्चालनका लागि क्षमतावान् र योग्य समूह आवश्यक भएकाले छनोट प्रक्रिया कडा बनाइएको केसीले बताए। यसले केन्द्रमा प्रतिस्पर्धा गर्न सक्ने निखारिएका नेतृत्व मात्र अघि आउने उनको भनाइ छ।सङ्गठन विस्तारमा सक्रिय रहेकाहरूलाई समर्थक जुटाउन सहज हुने र उनीहरू नेतृत्वमा पुग्ने सम्भावना बढी हुने उनले उल्लेख गरे। आज बन्दसत्र समाप्त भएपछि रास्वपाको निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ।


