काठमाडौं – समाज र वातावरणलाई स्वच्छ राख्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका सफाइकर्मीहरूको सम्मानमा बुढानीलकण्ठमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
विश्व वातावरण दिवस २०२६ को अवसरमा रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठले ‘सफाइकर्मीलाई सम्मान, सबैको मान’ भन्ने नारासहित आयोजना गरेको कार्यक्रममा बुढानीलकण्ठ क्षेत्रमा कार्यरत करिब ३० जना सफाइकर्मीलाई सम्मान गरिएको हो ।
बुढानीलकण्ठ–३ स्थित नेचुरल भ्यू रिसोर्टमा आयोजित कार्यक्रममा इसीआइ नेपाल अन्तर्गत कार्यरत अग्रपंक्तिका सफाइकर्मीहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै उनीहरूको योगदानको कदर गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले समाजलाई स्वच्छ, सुरक्षित र व्यवस्थित राख्न सफाइकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूलाई सम्मान र गरिमापूर्ण व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरूले दैनिक रूपमा फोहोर व्यवस्थापन गर्दै सार्वजनिक स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्याइरहेका भए पनि अपेक्षित सामाजिक सम्मान प्राप्त गर्न नसकेको धारणा व्यक्त गरेका थिए ।
रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठका अध्यक्षले सफाइकर्मीहरू समाजका अदृश्य नायक भएको उल्लेख गर्दै उनीहरूको योगदानलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास आजको आवश्यकता भएको पनि बताए ।
कार्यक्रममा सहभागी सफाइकर्मीहरूले सम्मानले आफ्नो कामप्रति थप उत्साह र आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका थिए । उनीहरूले आफ्नो योगदानको कदर भएको महसुस गरेको बताउँदै आयोजकप्रति आभार व्यक्त गरेका थिए ।
रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठले यो कार्यक्रमलाई श्रमको सम्मान, सामाजिक उत्तरदायित्व र मानवीय गरिमाको प्रवद्र्धन गर्ने अभियानको सुरुआतका रूपमा लिएको जनाएको छ ।
क्लबले आगामी दिनमा पनि श्रमजीवी वर्गको सम्मान, सुरक्षा र जीवनस्तर सुधारका लागि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


