जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले गरे महायज्ञको दर्शन

एटुजेड समाचार

भरतपुर – नेपालका प्रथम जगतगुरु अनन्द विभूषित बालसन्त मोहनशरण देवाचार्यले आइतबार कोटिहोम महायज्ञको दर्शन गरेका छन् । महायज्ञ दर्शन गर्नुका साथै उनले आध्यात्मिक प्रवचन पनि दिए । सात्विक प्रवृत्तिका मान्छेले यज्ञ, भगवान र साधुसन्तलाई रुचाउने उनले बताए ।

‘सात्विक प्रवृत्तिका मान्छेले यस्ता यज्ञ अनुष्ठानहरुमा आउन मन गर्छ । सके दुई चार पैसा सहयोग गर्ने पनि भावना हुन्छ’, उनले भने । नेपाललाई हिन्दु राष्ट्र कायम गर्न ठूलो संघर्ष गर्दा पनि सफल हुन नसकिएको बताउँदै उनले हिन्दु धर्म राख्न दलहरुले दरिद्रता देखाएको गुनासो गरे ।

‘राजनीतिक दलहरुले संविधान लेख्दा सनातनदेखि चल्दै आएको धर्म, संस्कार र संस्कृतिको समर्थन गर्दै धार्मिक स्वतन्त्रता हुने भनेर लेखे । त्यति लेख्दै गर्दा अगाडिपट्टि हिन्दु धर्म लेख्देको भए भइहाल्थ्यो नि’, उनले भने, ‘सानो शब्दमा कन्जुस्याई गरे । दरिद्रता देखाए । त्यसको संकट हामीले अहिलेसम्म भोगिरहेका छौँ ।’

योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञ असार १३ गते सम्पन्न हुँदै छ । गत वैशाख १७ गतेदेखि श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ सुरु भएको थियो । राष्ट्रगुरू योगी नरहरिनाथको संकल्पमा भएको महायज्ञमा बिजमन्त्रद्वारा सवा करोड पटक कोटि हवन हुँदैछ ।

राष्ट्र शान्ति र विश्व शान्तिको कामना गर्दै ५९ दिन लामो महायज्ञ गरिएको हो । महायज्ञको उच्चपदस्थ व्यक्तिहरुले पनि दर्शन गर्दै आएका छन् । आगामी असार ६ गते नौ वर्ष मुनिका एक हजार आठ बालिकाको सामुहिक पुजन गरिँदै छ । असार ८ गते पाँचसरे सवा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको महायज्ञ संयोजक एवम् मुख्यकर्ता प्रेमनिधि भारद्वाजले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु