नारायणगढ (चितवन)। फलफूल तथा तरकारी नाशवान वस्तु भएकाले यस्ता कृषिउपजको ढुवानीमा एम्बुलेन्ससरह विशेष सुविधा उपलब्ध गराउन राज्यसँग पहल गर्नुपर्नेमा सरोकार भएकाहरू जोड दिएका छन्।
फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घ चितवनको २५औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनलाई सम्बोधन गर्दै नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष भरतप्रसाद खतिवडाले बन्द, हडताल तथा अन्य अवरोधका कारण फलफूल तथा तरकारी ढुवानी प्रभावित हुँदा ठूलो परिमाणमा क्षति हुने भएकाले यस्ता वस्तुको ढुवानीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए।
उनले फलफूल तथा तरकारीको उत्पादनसँगै बजारीकरण र बजार व्यवस्थापनका लागि सरकारले प्रभावकारी नीतिगत व्यवस्था गर्न नसक्दा समस्या उत्पन्न भएको धारणा राखे। “हरेक वर्ष किसानले उत्पादन गरेका फलफूल तथा तरकारीले उचित मूल्य र बजार पाउन नसकेको खबर आउँछन्। नेपालमा उत्पादन भएका फलफूल तथा तरकारी भारतसहित अन्तरराष्ट्रिय बजारसम्म पुग्न सके मात्र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्नेछ। यसका लागि व्यवसायीहरू एकजुट भएर आवाज उठाउन आवश्यक छ”, अध्यक्ष खतिवडाले भने।
उनले फलफूल तथा तरकारी व्यवसायसँग सम्बन्धित सरोकार भएका पक्षको भूमिकालाई थप प्रभावकारी बनाउँदै कृषि उत्पादन वृद्धि र व्यवस्थित बजारीकरणका लागि आवश्यक नीति निर्माणमा महासङ्घले सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गरे।
नेपाल फलफूल तथा तरकारी व्यवसायी सङ्घ हेटौँडाका अध्यक्ष कृष्णप्रसाद हुमागाईंले सङ्घको गरिमा कायम राख्दै व्यवसायीको हकहित र सुरक्षाका विषयमा सक्रियतापूर्वक काम गर्ने नेतृत्व चयन गर्न आग्रह गर्नुभयो। सरकारले स्थानीय उत्पादनको बजारीकरणमा योजनासहित प्रभावकारी नीति लागू गर्नुपर्नेमा उनले जोड दिए।
चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चीरञ्जीवी सुवेदीले फलफूल तथा तरकारी व्यवसायीका समस्या समाधानका लागि सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कृषिजन्य उत्पादनको बजारीकरणमा संलग्न व्यवसायीलाई बिचौलियाका रूपमा चित्रित गरेर निरुत्साहित गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ।
चितवन उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष एवं वस्तुगत सङ्घका संयोजक राजन पियाँले फलफूल तथा तरकारी व्यवसायीका समस्या समाधानमा उद्योग वाणिज्य सङ्घले सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए। उनले फोहरमैला व्यवस्थापनलाई व्यवस्थित बनाउन पहल गरिने उल्लेख गर्दै चितवनलाई अर्गानिक फलफूल तथा तरकारी उत्पादनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले केरा मात्र नभई फलफूल, तरकारी, धान, मकैलगायत सबै कृषि उपज उत्पादन गर्ने किसान र व्यवसायी एकताबद्ध भएर कृषि व्यवसायलाई थप सफल बनाउनुपर्नेमा जोड दिए।
सङ्घका पूर्वअध्यक्ष शालिकराम घिमिरेले फलफूल तथा तरकारी व्यवसायीका समस्याबारे राज्यका सरोकार भएका निकायमा पटकपटक ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको गुनासो गरे। सङ्घका पूर्वअध्यक्ष थीरप्रसाद धितालले सङ्घ स्थापनापछि व्यवसायीलाई सङ्गठित गर्दै किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।
सङ्घका अध्यक्ष जयराम पाण्डेले व्यवसायीको हकहित संरक्षणका साथै स्थानीय उत्पादनको बजारीकरण र उपभोक्तालाई सहज रूपमा फलफूल तथा तरकारी उपलब्ध गराउन सङ्घले काम गर्दै आएको जानकारी दिए। उपाध्यक्ष दिक्पाल लामाले व्यवसायी एकताको माध्यमबाट संस्थाले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए।


