काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा बजेटको अभाव रहेको भन्दै बजेट थप्नका लागि संसद्मा पहल गरिदिन सांसदहरूलाई आग्रह गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार गृहमन्त्री गुरुङले स्रोत साधनको अभावमा मन्त्रालयले प्रभावकारी रूपमा काम गर्न नसकेको बताए ।
मन्त्रालयसँग पर्याप्त बजेट नहुँदा सुरक्षा र जनहितका कामहरू सोचेजस्तो हुन नसकेको मन्त्री गुरुङले बताए । ‘अहिले हामीसँग बजेट छैन, हजुरहरूले संसद्मा एक पटक पहल गरिदिनुभयो भने बजेट थपिन्थ्यो कि भन्ने आशा छ,’ मन्त्री गुरुङले भने- ‘हजुरहरूको आवाजको वेट हुन्छ, मन्त्री आफैँ पीडित छ, मन्त्रालयलाई न्याय दिनुपर्यो भनेर बोलिदिनुस्।’


