आजदेखि सुरू हुँदैछ फुटबलको महाकुम्भ : विश्वकप–२०२६

एटुजेड समाचार

९६ वर्षअघि उरुग्वेदेखि सुरु भएको फिफा विश्वकप फुटबलले सन् २०२६ मा आइपुग्दा आफ्नो सबैभन्दा ठूलो र फराकिलो रूप धारण गरेको छ । अहिलेसम्मकै सबैभन्दा लामो ३९ दिनसम्म चल्ने यो विश्वकप सहभागिताको संख्याले इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

पहिलोपल्ट तीन राष्ट्र (अमेरिका, क्यानडा र मेक्सिको) मा आयोजना हुन लागेको फिफा विश्वकप २०२६ बिहीबार राति सुरु हुँदै छ । उद्घाटन खेलमा समूह ‘ए’ को टोली तथा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबिच मेक्सिको सिटीमा प्रतिस्पर्धा हुँदै छ । उद्घाटन समारोह मेक्सिको सिटीमा र समापन समारोह अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने तय छ।

यस समूहमा एसियाली राष्ट्र दक्षिण कोरिया र युरोपको चेकियाले पनि चुनौती प्रस्तुत गर्दै छन् । समूहका अधिकांश खेल मेक्सिकोमा हुनेछन् । समूह ‘ए’का दुई खेल मेक्सिको सिटीमा हुनेछन् भने ग्वाडालाजारा र मोन्टेरीमा एक÷एक खेल हुने तालिका छ । यो समूहमा मेक्सिकोबाहिर एउटा मात्र खेल हुने छ । त्यो जुन १८ मा चेक गणतन्त्र र दक्षिण अफ्रिकाबिचको खेल हो । जुन एटलान्टामा हुने तय छ । मेक्सिकोका तीनमध्ये दुई समूह खेल हालै मात्र पुनर्निर्माण गरिएको एज्टेका रंगशालामा हुने छन् । यो त्यही रंगशाला हो, जसले १९७० र १९८६ को विश्वकपमा फाइनल खेल आयोजना गरेको थियो । ऐतिहासिक समारोहसँगै सुरु हुने यस पल्टको विश्वकप अघिल्ला सबै संस्करणभन्दा फरक हुनेछ।

विश्वकपमा पहिलोपटक तीन देशले संयुक्त रूपमा आयोजना गर्दैछन् । जहाँ कीर्तिमानी १०४ खेल, ४८ राष्ट्र र १६ आयोजक शहर यस विश्वकको विशेषता हो । मेक्सिकोबाट सुरु भएर जुलाई १९ तारिखमा न्युयोर्कमा समापन हुने कार्यक्रम छ । तीन वटै आयोजक राष्ट्रमा हुने विशेष उद्घाटन समारोहमार्फत गरिनेछ । यसपटकको विश्वकप उद्घाटन समारोह एउटै शहरमा सीमित रहने छैन । मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा आयोजना गरिने तीनवटा समारोह एउटै साझा अवधारणामा आधारित हुनेछन् । प्रसिद्ध अन्तर्राष्ट्रिय क्रियटिभ निर्देशक मार्को बालिचको नेतृत्वमा तयार गरिएका यी कार्यक्रमहरूले फुटबल प्रेमीलाई भाषा र संस्कृतिभन्दामाथि उठेर एकतामा बाध्ने सन्देश दिने संकल्प लिएको छ।

यसबीच प्रत्येक देशले आफ्नो सांस्कृतिक पहिचानलाई फरक शैलीमा प्रस्तुत गर्नेछन् । मेक्सिकोले ‘पापेल पिकाडो’ कलामार्फत आफ्नो संस्कृति देखाउनेछ भने क्यानाडाले ‘सांस्कृतिक मोजाइक’ अर्थात् विविधतामा एकताको भाव प्रस्तुत गर्नेछ । अमेरिकाले आधुनिक प्रविधि र चम्किलो दृश्य प्रभावमार्फत आफ्नो पहिचान झल्काउनेछ । मेक्सिको सिटी स्टेडियममा हुने पहिलो खेलअघि समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गर्नेछ । आदिवासी कलाकारहरुको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्यआकर्षण हुनेछन् । साथै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरूले पनि प्रस्तुति दिनेछन्।

समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता कलाकारहरू देखिन सक्नेछन्। उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ । क्यानाडाको टोरन्टोमा उद्घाटन समारोह आयोजना हुनेछ । यो क्यानाडाका लागि विशेष अवसर हुनेछ । किनभने पुरुष राष्ट्रिय टोलीले पहिलोपल्ट आफ्नै भूमिमा विश्वकप खेल्दै छ । मेक्सिको र अमेरिकासँग विश्वकप आयोजना गरिसकेको अनुभव छ । क्यानाडा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दैछ । त्यसैले पनि सम्पूर्ण क्यानेडियन जनताका लागि यो विशेष दिन हुनेछ।

फ्रम कोस्ट टु कोस्ट टु कोस्ट अर्थात् देशको पूर्वदेखि पश्चिम र उत्तरसम्मको यात्रालाई चित्रण गर्ने विशेष प्रस्तुति समारोहको मुख्य विषय रहनेछ । समारोहमा अलानिस मेरिसेट, अलेसियाकारा, माइकलबुब्ले, जेसी रेयेज, नोरा फतेह, एलियाना सन्जोय, भेगेड्रिम र विलियम प्रिन्सलगायत कलाकारहरूले प्रस्तुति दिने अपेक्षा गरिएको छ । समारोहपछि क्यानाडाले बोस्निया एन्ड हर्जेगोभिनासँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ। लस एन्जलसमा जुन १२ तारिखमा उद्घाटन समारोह आयोजना हुनेछ।

मनोरञ्जन केन्द्र मानिने शहरमा आयोजना हुने यो कार्यक्रमले अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको बेजोड प्रस्तुति दिनेछ । उक्त समारोहमा केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टाइलाजस्ता विश्व प्रसिद्ध कलाकारहरूले प्रस्तुति दिने सम्भावना छ । यो समारोहले अमेरिकाको सांस्कृतिक विविधता र विश्व मनोरञ्जन क्षेत्रमा रहेको प्रभावलाई झल्काउनेछ । समारोहपछि अमेरिकाले पाराग्वेसँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ । खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे हुनेछ।

उरुग्वेमा सन् १९३० मा १३ राष्ट्रबाट सुरु भएको विश्वकपको यात्रा अहिले ४८ राष्ट्रसम्म आइपुगेको छ । यो फुटबलको लोकप्रियता, व्यापारिक विस्तार र विश्वव्यापी पहुँचको सबैभन्दा ठूलो प्रमाण हो । विश्वकप २०२६ प्रतिस्पर्धा मात्र होइन विश्व फुटबलको बदलिँदो अध्याय हो । सन् १९९८ देखि पछिल्ला सात संस्करणमा ३२ राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दै आएका थिए, जति बेला कुल ६४ मात्र हुन्थे । तर फिफाले सहभागिता बढाउने निर्णय गर्दा धेरैले आलोचना गरेका थिए।

विश्वकपको आकर्षण नयाँ ढाँचा र नयाँ राष्ट्रहरू मात्र छैनन् । फुटबलका लिजिन्ड क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीसँगै नेइमार पनि आकर्षणको केन्द्र बनेका छन् । फेरि एकपटक विश्वकप मञ्चमा यी स्टारका जादुमयी कलाको प्रतीक्षामा समर्थक छन् । करिब दुई दशकदेखि विश्व फुटबलमा राज गरेका महान् खेलाडी रोनाल्डो र मेसीका लागि यो अन्तिम विश्वकप हुन सक्छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु