चितवन – राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सञ्चालन भइरहेको आर्थिक गणना २०८२ अन्तर्गत चितवन जिल्लामा हालसम्म ४१ हजार ४७९ आर्थिक प्रतिष्ठानको गणना सम्पन्न भएको छ। जिल्लामा अनुमानित ४६ हजार ९८८ प्रतिष्ठानमध्ये ८८.३ प्रतिशतको गणना सम्पन्न भएको तथ्यांकले देखाएको छ।
आर्थिक गणना अन्तर्गत कृषि बाहेकका उद्योग, व्यापार, निर्माण, यातायात, पर्यटन, सूचना–प्रविधि, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रका आर्थिक प्रतिष्ठानहरूको विवरण संकलन भइरहेको छ।गणनाबाट जिल्लाको आर्थिक गतिविधि, रोजगारी, लगानी तथा उत्पादन सम्बन्धी यथार्थ अवस्था पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तहगत विवरणअनुसार रत्ननगर नगरपालिका मा ९९.९ प्रतिशत प्रगति हासिल भएको छ भने कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका मा अनुमानित संख्याभन्दा बढी प्रतिष्ठान फेला परेकाले गणना प्रगति १०० प्रतिशतभन्दा माथि पुगेको छ।
भरतपुर महानगरपालिका मा २७ हजार ४२५ अनुमानित प्रतिष्ठानमध्ये २३ हजार ९४५ को गणना सम्पन्न हुँदा प्रगति ८७.३ प्रतिशत पुगेको छ। त्यस्तै खैरहनी नगरपालिका मा ८६.४ प्रतिशत, माडी नगरपालिका मा ९६.३ प्रतिशत तथा राप्ती नगरपालिका मा ९९.९ प्रतिशत प्रगति भएको छ।
क्षेत्रगत रूपमा हेर्दा चितवनमा थोक तथा खुद्रा व्यापार क्षेत्र सबैभन्दा अगाडि रहेको देखिएको छ। कुल प्रतिष्ठानमध्ये १६ हजार १६० (५५.२७ प्रतिशत) व्यापार क्षेत्रसँग सम्बन्धित छन्। त्यसपछि आवास तथा खाद्य सेवा क्षेत्र मा ४ हजार ८३९ (१६.५५ प्रतिशत) तथा उत्पादन उद्योग मा ३ हजार ४६२ (११.८४ प्रतिशत) प्रतिष्ठान रहेका छन्।
त्यसैगरी व्यवसायिक तथा अन्य सेवा संस्थाको हिस्सा ७.८६ प्रतिशत, शिक्षा क्षेत्र २.७२ प्रतिशत, वित्तीय तथा बीमा संस्था १.५१ प्रतिशत, स्वास्थ्य तथा सामाजिक सेवा संस्था १.३९ प्रतिशत तथा यातायात तथा सूचना क्षेत्र ०.५० प्रतिशत रहेको गणनाले देखाएको छ।
चितवन जिल्ला आर्थिक दृष्टिले बागमती प्रदेशको महत्वपूर्ण व्यावसायिक केन्द्रका रूपमा विकसित हुँदै गएको सन्दर्भमा आर्थिक गणना २०८२ ले जिल्लाको वास्तविक आर्थिक अवस्था उजागर गर्ने विश्वास गरिएको छ। प्राप्त तथ्यांकले आगामी दिनमा स्थानीय तथा प्रदेशस्तरीय विकास योजना, रोजगारी प्रवर्द्धन, लगानी व्यवस्थापन र नीति निर्माणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।


