चितवन — चितवनको भरतपुरस्थित चौबिसकोठीमा स्वर्गीय राजा महेन्द्रको शालिक स्थापना गर्ने तयारी सुरु गरिएको छ। सोही विषयमा सोमबार भरतपुरमा बृहत् छलफल कार्यक्रम आयोजना गरिएको थियो।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा शालिक स्थापना सम्बन्धी विषयमा व्यापक छलफल गर्दै अभियानलाई व्यवस्थित ढंगले अघि बढाउने सहमति गरिएको बताइएको छ।
छलफलबाट जीवलाल पुरीको संयोजकत्वमा एक समिति गठन गरिएको छ। नवगठित समितिले सर्वपक्षीय छलफल र आवश्यक परामर्शपछि चौबिसकोठीमा स्वर्गीय राजा महेन्द्रको शालिक स्थापना गर्ने विषयमा अन्तिम निर्णय लिने जनाएको छ।
कार्यक्रममा रास्वपा चितवनका जिल्ला सभापति कृष्ण भुसाल, नेकपा नेता बद्री तिमिल्सिना, राप्रपा चितवनका अध्यक्ष रुद्र ढकाल, विश्व हिन्दु महासंघका अध्यक्ष प्रेम गैरे तथा दुर्गा प्रसाईं अभियानका संस्थापक अध्यक्ष मेघराज पौडेललगायतको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार छलफलमा नेपाली कांग्रेस र नेकपा (एमाले) का प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको भए पनि उनीहरूको सहभागिता रहेको थिएन।
समितिले आगामी दिनमा सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालासँग छलफल गरी साझा धारणा निर्माण गर्दै अभियानलाई अघि बढाउने जनाएको छ।


