महिला टी–२० मा नेपालको विजयी सुरुआत, मलेसिया २ विकेटले पराजित

एटुजेड समाचार

काठमाडौँ — शीर्षपंक्तिको ब्याटिङ धरासायी भए पनि नेपाली महिला क्रिकेट टोलीले बुधबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई २ विकेटले पराजित गरेको छ ।

क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा पूजा महतोले ३ विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको मलेसिया १६.५ ओभरमा ६७ रनमै अलआउट भएको थियो । प्लेयर अफ द म्याच पूजाले ४ ओभरमा १३ रनमात्र खर्चेर सो ३ विकेट लिएकी थिइन् ।

त्यस्तै मनिषा उपाध्यायले ४ ओभरमा १ मेडन राख्दै १७ र रिया शर्माले २.५ ओभरमा १३ रन खर्चेर २–२ तथा कविता कुँवरले ३ ओभरमा १ मेडन राख्दै १२ र सीता राना मगरले ३ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १–१ विकेट लिइन् ।

मलेसियाबाट इल्सा हन्टरले मात्र दोहोरो स्कोर बनाएकी थिइन् । उनले १४ बल खेली २ चौका प्रहार गरी १० रन बनाइन् । कप्तान मास इल्यासा ८ तथा एइना हसिम, इद्रिना नबिल र धानुश्री मुहुनानले समान ७ रन जोडेकी थिइन् ।

जवाफी ब्याटिङमा आएको नेपालले निकै खराब सुरुआत गरेको थियो । ओपनर बिन्दु रावल र पुजा खाता नखोली आउट भए । रुबी पोदारले २२ बल खेली २ चौकासहित २२ रन बनाइन् । तर त्यसपछि कप्तान इन्दु बर्मा र पूर्व कप्तान रुबिना क्षेत्री १–१, कविता ३ र सीता ५ रनमा आउट भइन् ।

Forbes

टिकेर खेलेकी ओपनर सम्झना खड्काले ३९ बल खेली २ चौकासहित ३२ रन बनाइन् । नेपाललाई विजयका लागि ६ रन आवश्यक भएको समयमा उनी पनि आउट भइन् ।

कविता जोशी ८ बल खेली १ चौका प्रहार गरी ६ र रिया शर्मा ४ रनमा अविजित रहेपछि नेपालले १७.३ ओभरमा ७१ रन बनायो ।

नेपाल र मलेसियाबीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । दुवै टोली मलेसियामै हुने एसियाली खेलकुदको छनोट प्रतियोगिता र एसीसी प्रिमियर कपको तयारीमा यो खेल खेलिरहेका छन् ।

 

 

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु