काठमाडौँ — स्कटल्यान्डले क्रिकेट विश्वकप लिग २ मा सोमबार नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
अमेरिकाविरुद्ध शनिबार ९ विकेटको विजय हात पारेको टोलीबाट नेपालले कुनै खेलाडी परिवर्तन गरेको छैन । रोहित पौडेलको कप्तानीमा नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् । करण केसी, भीम सार्की, विनोद भण्डारी र अर्जुन कुमाल प्लेयिङ ११ बाहिर रहेका छन् ।
स्कटल्यान्डले ओली जोन्सलाई ‘डेब्यु’ गर्ने अवसर दिएको छ । अफ स्पिन अलराउन्डर जोन्सले जनवरीमा जिम्बावेमा भएको आईसीसी यू–१९ विश्वकप खेलेका थिए । उनलाई तीब्र बलर साफयान सरिफको स्थानमा ल्याइएको छ ।
स्कटल्यान्डले आफ्नो पहिलो दुवै खेलमा नेपाल र अमेरिकालाई समान २ रनले पराजित गरेको थियो ।
यी दुई विजयका साथ स्कटल्यान्डले अमेरिकालाई उछिन्दै लिग २ को शीर्ष स्थानमा उक्लेको थियो । डिफेन्डिङ च्याम्पियन स्कटल्यान्डले ३० खेलमा ३८ अंक जोडिसकेको छ र टोलीले अब ६ खेल खेल्न बाँकी रहेको छ । एउटा टोलीले लिग २ मा ३६ खेल खेल्न पाउने प्रावधान रहेको छ ।
अमेरिका २६ खेलमा ३६ अंक जोडी दोस्रो स्थानमा छ । नेपाल २६ खेलमा २० अंक जोडी ८ राष्ट्र सहभागी प्रतियोगिताको सातौं स्थानमा छ । लिग २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोटमा जाने प्रावधान रहेको छ । नेपालले स्कटल्यान्डलाई पराजित गरेमा क्यानडा र नामिबियालाई उछिन्दै पाँचौं स्थानमा उक्लनेछ ।


