काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ। लखनउको घरेलु मैदानमा भएको उक्त खेलमा चेन्नईले प्रस्तुत गरेको १ सय ८७ रनको चुनौतीलाई लखनउले मात्र १६ ओभर ४ बलमा ३ विकेट गुमाएर सहजै पूरा गर्यो।
लखनउको जितमा मिचेल मार्शले सम्झनायोग्य र विस्फोटक ब्याटिङ गरे। उनले मात्र ३८ बलको सामना गर्दै ९ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक ९० रनको अर्धशतकीय पारी खेलेर टोलीको जितको आधार तय गरे। उनलाई बलियो साथ दिँदै जोश इंग्लिसले ३६ तथा निकोलस पूरनले ३२ रनको योगदान दिए। चेन्नईका बलरहरू मुकेश चौधरी र स्पेन्सर जोन्सनले समान एक-एक विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नई सुपर किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रनको बलियो योगफल खडा गरेको थियो। चेन्नईका लागि कार्तिक शर्माले उत्कृष्ट इनिङ खेल्दै ४२ बलमा ६ चौका र ५ छक्काको मद्दतले ७१ रन जोडेका थिए। त्यस्तै, शिवम दुबेले ३२ तथा डेवाल्ड ब्रेभिसले २५ रन बनाए। लखनउका बलर आकाश सिंहले कसिलो बलिङ गर्दै सर्वाधिक ३ विकेट चट्काएका थिए।
यो जितका बावजुद लखनउ सुपर जायन्ट्स तालिकाको अन्तिम स्थानमै संघर्ष गरिरहेको छ। लखनउको १२ खेलबाट ८ अंक मात्र पुगेको छ। यता पराजित भएको चेन्नई सुपर किंग्स समान १२ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको छैटौँ स्थानमा यथावत छ।


