बाँदर धपाउन पुरै गाउँपालिकामा सार्वजनिक बिदा

एटुजेड समाचार

तेह्रथुम – लालीगुराँस नगरपालिकाले बाँदरको आतंक नियन्त्रणका लागि आगामी जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कृषकले मेहनत गरेर उत्पादन गरेका अन्नबाली र तरकारी बाँदरले नष्ट गर्न थालेपछि समस्या समाधानका लागि सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न बिदा दिन लागिएको हो।

नगर प्रमुख अर्जुन माबोहाङद्वारा हस्ताक्षरित सूचनामा बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको, रातदिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको तथा विद्यालय उमेरका बालबालिकासमेत पढाइ छाडेर बाली जोगाउन बाध्य भएको उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, “बाँदरको समस्या सतहमा सामान्य देखिए पनि यसले कृषक वर्गलाई गम्भीर असर पारेको छ। कृषि उपज जोगाउन किसान रातभर खेतबारी कुरेर बस्नुपर्ने अवस्था छ, जसले उनीहरूको आर्थिक अवस्था मात्र होइन, बालबालिकाको शिक्षा र परिवारको दैनिकीसमेत प्रभावित भएको छ।”

नगरपालिकाले जेठ १ र २ गते सामूहिक रूपमा बाँदर लखेटेर नगर क्षेत्रको सीमाना बाहिर पठाउने कार्यक्रम तय गरेको छ। यसका लागि वडाले तोकेको समय र स्थानमा उपस्थित भई बाँदर धपाउने अभियानमा सहभागी हुन कृषक, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणलाई आह्वान गरिएको छ।

नगर प्रमुख माबोहाङले बाँदरको समस्या सामान्य देखिए पनि यसले ग्रामीण किसानको जीविकोपार्जनमै गम्भीर असर पारेको बताउनुभयो। उहाँले आफ्नो कार्यकालको सुरुवातमै बाँदर नियन्त्रणका लागि ‘रुँगालो’ व्यवस्था गर्दा धेरैले आलोचना गरेको स्मरण गर्दै अहिले समस्या झनै विकराल बन्दै गएको उल्लेख गर्नुभयो।

Forbes

नगरपालिकाले बाँदर नियन्त्रणका लागि अस्थायी संरचना निर्माण गर्नुका साथै विभिन्न स्थानमा चार जना रुँगालो परिचालन गरेको छ। वडा नम्बर ८ को मेघा पुछार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सिंहथाप पुछार क्षेत्रमा बाँदर रुँगालो राखिएको नगरपालिकाले जनाएको छ।

त्यसैगरी, बाँदर प्रभावित सामुदायिक वन क्षेत्रमा अम्बक, नासपाती लगायत बाँदरलाई आकर्षित गर्ने फलफूलका बिरुवा रोप्ने योजना पनि अघि बढाइएको छ। वन क्षेत्रमै आवश्यक खानेकुरा उपलब्ध गराएर बस्ती र खेतबारीमा आउने क्रम घटाउने उद्देश्य रहेको नगरपालिकाले जनाएको छ।

पछिल्ला वर्षमा पहाडी जिल्लाहरूमा बाँदरको समस्या तीव्र बन्दै गएको छ। विशेषगरी मकै, आलु, फलफूल तथा तरकारी खेतीमा ठूलो क्षति पुगेपछि किसानहरू खेतीपाती नै छाड्न बाध्य भएको गुनासो बढ्दै गएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु