भरतपुर – वन्यजन्तु उद्धार गर्न अब चितवन निकुञ्जलाई गुहार्न नपर्ने भएको छ । पर्सा राष्ट्रिय निकुञ्जले ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेपछि चितवन निकुञ्जलाई गुहार्न नपर्ने भएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि आफ्नै ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेको छ । निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेको बताए । ‘विगतमा वन्यजन्तु घाइते वा दुर्घटना हँुदा चितवन राष्ट्रिय निकुञ्जबाटै टोली बनाउनुपर्ने हुन्थ्यो’ उनले भने ।
यहाँबाटै हुँदा धेरै सहज र छिटो उद्धार हुने उनको भनाइ छ । उनले थपे, ‘अब वन्यजन्तु उद्धार गर्न अब चितवन निकुञ्जलाई गुहार्न पर्दैन ।’ सूचना अधिकारी भगतका अनुसार उद्धार टोलीमा पशु चिकित्सक, प्राविधिक, सवारी चालकलगायत सबै तयार भएको जानकारी दिए ।
‘वन्यजन्तु घाइते तथा उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा बारा, पर्सा, रौतहट, मकवानपुरसम्म जाने गरेका थियौँ, अब यसबाट पार पाएका छौँ’ उनले भने ।
त्यस्तैगरी किंग कोब्रा २५ वटा, अजिङ्गर १५ वटा, सालक एक वटा र अन्य वन्यजन्तु तीनवटा उद्धार गरेर उपचारपछि प्राकृतिक वासस्थलमा छाडेको निकुञ्जले जनाएको छ ।


