आर्थिक लेनदेनको विवादपछि हत्या, चितवन प्रहरीद्वारा आरोपी पक्राउ

एटुजेड समाचार

भरतपुर – चितवनको भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित सम्भव अटो वर्कशपमा भएको हत्या घटनाका मुख्य आरोपी पक्राउ परेका छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१६ घर भई हाल भरतपुर–१६ बस्दै आएका २७ वर्षीय कृष्ण बहादुर खड्कालाई पक्राउ गरेको हो ।

वैशाख २२ गते राति करिब ११ः५० बजे सम्भव अटो वर्कशपमा काम गर्ने रूपन्देही सैनामैना नगरपालिका–६ घर भई हाल भरतपुर–७ बस्दै आएका ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार भएको थियो । गम्भीर घाइते भएका खनाललाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले वैशाख २३ गते राति १२ः२० बजे मृत घोषणा गरेका थिए ।

घटनापछि फरार रहेका आरोपी खड्कालाई चितवन प्रहरीको टोलीले कास्की प्रहरीसँग समन्वय गरी पोखरा महानगरपालिका–८ सभागृहचोकस्थित अशोक होटलबाट गयराती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । प्रहरीले उनलाई लुकाइछिपाइ राख्न सहयोग गरेको आरोपमा स्याङ्जा घर भई हाल पोखरा–१५ बस्ने २८ वर्षीय सम्राट गुरुङलाई समेत पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार मृतक खनाल र आरोपी खड्का बीच विगत ५–६ वर्षदेखि चिनजान तथा मित्रता रहेको खुलेको छ । सम्भव अटो वर्कशपमा केही दिन सँगै काम गर्ने क्रममा उनीहरूबीच आर्थिक लेनदेन भएको र रकम तथा मोबाइल फोनको विषयमा विवाद चर्किएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु