विश्व शान्तिको कामनासहित वागीश्वरीमा कोटिहोम महायज्ञ

एटुजेड समाचार

चितवन – चितवनको आँपटारीस्थित वागीश्वरी आध्यात्मिक परिषद् अन्तर्गत रहेको योगी नरहरिनाथ आश्रममा जारी श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञमा भक्तजनको सहभागिता दिनप्रतिदिन बढ्दै गएको छ ।

विश्व शान्ति, धार्मिक जागरण तथा सनातन संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको महायज्ञमा भागवत कथा श्रवण, हवन, चरु तथा आर्थिक सहयोग गर्ने श्रद्धालुहरुको उल्लेख्य उपस्थिति देखिएको हो ।

राष्ट्रगुरु योगी नरहरिनाथ को संकल्पअनुसार वैशाख १७ गतेदेखि सुरु भएको महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार महायज्ञमा दैनिक रुपमा देशका विभिन्न जिल्लाबाट भक्तजन आउने क्रम बढिरहेको छ ।

महायज्ञलाई सफल बनाउन विभिन्न व्यक्तिहरुले आर्थिक सहयोगसमेत प्रदान गरिरहेका छन् । गैंडाकोट नगरपालिका–२ निवासी हेमकान्त लम्सालले आइतबार महायज्ञस्थलमै पुगेर ५० हजार पाँच रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

त्यसैगरी काठमाडौं–१४ निवासी यज्ञ आचार्य नारायणप्रसाद पोखरेलले आफ्ना स्वर्गीय छोरा अर्जुन पोखरेलको स्मृतिमा २१ हजार रुपैयाँ सहयोग गरेका छन् । अर्जुन पोखरेल नेपाली सेनामा प्राविधिक सेनानीका रुपमा कार्यरत रहेका थिए ।

Forbes

महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेय रहेका छन् भने मूलकर्ता प्रेमनिधि भारद्धाज हुन् । महायज्ञमा दैनिक रुपमा भागवत कथा वाचन भइरहेको छ । आइतबार देवघाटस्थित गार्गी कन्या गुरुकुलका करिब ५० जना छात्राहरुले महायज्ञस्थलको अवलोकन गर्नुका साथै धार्मिक प्रवचन श्रवण गरेका थिए ।

आयोजकले महायज्ञअन्तर्गत भजन प्रतियोगिता आयोजना गर्ने तयारीसमेत गरेको जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक समूहलाई नाम दर्ता गराउन आग्रह गरिएको छ ।

महायज्ञ अवधिभर ब्रतबन्ध, ग्रहशान्ति, चौरासी पूजा लगायतका धार्मिक अनुष्ठान सञ्चालन भइरहेका छन् । साथै शिवगोरक्ष कोटिहोम अन्तर्गत नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ तथा भागवत पाठ परायणसमेत भइरहेको आयोजकले जनाएको छ ।

वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम तथा सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा भइरहेको महायज्ञ राष्ट्रगुरु योगी नरहरिनाथले २३ वर्षअघि गरेको संकल्पअनुसार आयोजना गरिएको हो । योगी नरहरिनाथले आफ्नो जीवनकालमा १२९ वटा महायज्ञ सम्पन्न गरेका थिए । १३०औँ महायज्ञ गर्ने उनको चाहना अधुरै रहेपछि अहिले सो संकल्पलाई पूर्णता दिन महायज्ञ आयोजना गरिएको जनाइएको छ ।

महायज्ञमा नौ वर्षमुनिका एक हजार आठ बालिकाको सामूहिक पूजा, पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड तथा शिखरिणी यात्रासम्बन्धी धार्मिक ग्रन्थ पाठ, गौकथा प्रवचन र पाँचसरे सवा करोड दीप प्रज्वलनजस्ता विशेष धार्मिक कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु