चितवन – भरतपुर-४ स्थित बैकुण्ठ टोलमा विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सिर्जनशील समाजको आयोजना तथा उदय नेपाल चितवनको सहकार्यमा आज उक्त तरकारी तथा कृषि बालीमा विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।
इश्वरी कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृषि विज्ञ निशा सुवेदीले प्रशिक्षण दिएकी थिइन्।
प्रशिक्षणका क्रममा तरकारी, खेतीपाती तथा फलफूलका बिरुवामा लाग्ने रोग, रोगको रोकथाम तथा न्यूनीकरणका उपाय, विषादी प्रयोगबाट उत्पन्न हुने समस्या, उपयोगी तथा अनुपयोगी किराको पहिचान लगायतका विषयमा विस्तृत जानकारी दिइएको थियो।
कृषि विज्ञ सुवेदीले विषादीको प्रयोग न्यूनीकरण गर्न किरा लाग्न नदिन पूर्वसावधानी अपनाउने, किरा देखिने बित्तिकै नियन्त्रण गर्ने, घरायसी औषधि तथा झोल मलको प्रयोग बढाउने, पानीको उचित प्रयोग गर्ने तथा तितो, पिरो, टर्रो र अमिलो प्रकृतिका किरालाई मन नपर्ने वस्तुको प्रयोग गर्नुपर्ने विषयमा विशेष जोड दिएकी थिइन्।
कार्यक्रममा शिवप्रसाद बराल, टिकाराम सापकोटा, महेश्वर पोखरेल, कविता शर्मा, हरीप्रसाद गुरागाईं, सुरेश घिमिरे, प्रदीप अर्याल, लक्ष्मी कडेल लगायत सदस्यहरू दिवाकर अधिकारी, तारा कडेल, रञ्जना कडेल तथा स्थानीय ५५ जना महिला तथा पुरुषको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण शिवप्रसाद बरालले गरेका थिए भने कार्यक्रम व्यवस्थापनमा गोविन्द कडेलले विशेष सहयोग गरेका थिए।


