चितवन – नेपाल विद्युत प्राधिकरण अन्तर्गत भरतपुर वितरण केन्द्रले विद्युत महसुल लामो समयसम्म नतिर्ने २८१ ग्राहकलाई कालोसूचीमा राखेको छ। कार्यालयका अनुसार पटक–पटक सूचना जारी गर्दा समेत बक्यौता रकम भुक्तानी नगरेपछि ती ग्राहकलाई कालोसूचीमा राखिएको हो ।
विद्युत कार्यालय प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार ‘६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राख्ने गरेको छ । ‘प्राधिकरणका कर्मचारीले विद्युत् मिटर रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको छ ।
सुरुवातमा विद्युत महसुल वक्यौता धेरै भएका ग्राहकको लाइन काटिन्छ ।’ लाइन काटेको ६ महिनासम्म पनि बिद्युतको महसुल नतिर्ने ग्राहकलाई कालोसुचिमा राख्ने गरिन्छ ।
लाइन काटीसकेपछी कालोसूचीमा परेका ग्राहकहरूले फेरि ग्राहक बन्नका लागि नयाँ ग्राहक सरह पुरानो पैसा तिरेर आवेदन दिई ग्राहक बन्न पाउने नियम रहेको प्रमुख चौधरीले बताए । यस्तै पछील्लो समय नागरिकहरु सचेत हुँदै गएको हुँदा विगतका वर्षहरूमा भन्दा कालोसूचीमा पर्नेको संख्या घट्दै गएको उनले बताए । भरतपुर वितरण केन्द्रमा हालसम्म ७५ हजार ग्राहक रहेका छन्।


