बेमौसमी तरकारी खेतीबाट लाखौं आम्दानी

एटुजेड समाचार

दाङ – घोराही उपमहानगरपालिका–७ का किसान भीमकान्त चापागाईं बेमौसमी तरकारी खेतीगरी आर्थिक रुपमा सक्षम बनेका छन्। उनले पाँच बिघा जमिनमा गोलभेडा र तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आएका छन्।

यतिखेर चापागाईंको बारीमा गोलभेँडा लटरम्म फलेका छन्। जमिनमा फरकफरक प्लटमा छुट्टाछुट्टै खेती गरेका छन्। त्यहाँ लटरम्म फलेका गोलभेँडा तथा तरकारी देख्दा त्यहाँ पुग्ने जोसुकै पनि लोभिन्छ। अनि दङ्ग छन् किसान ६२ वर्षीय चापागाईं । पसिना र पौरखले लहलह छन् उनको बारीमा धेरै तरकारी । व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रुपमा चिनिन सफल छन् चापागाईं।

चापागाईंको तरकारीखेती यो क्षेत्रकै एक नमुना बनेको छ। उनले ती प्लटमा झल्किने हरियाली र लटरम्म फलेका गोलभेँडा कतै पाकेका, केही पाक्ने तयारी र केही बतेला लागेका छन्। त्यस्तै खुर्सानी, सिमी, बोडी, काँक्रालगायत तरकारी फलेका छन्। यही गोलभेँडाले चापागाईंँलाई एक सफल एवम् उत्कृष्ट किसानको परिचय दिएको छ। आफूलाई एक सफल कृषकका रुपमा स्थापित गर्न सफल धेरै मेहनत गरेका छन्। कसानका लागि उनी एक सफलताको उदाहरण बन्न सफल भएका छन्।

विसं २०७५ मा रु चार लाखको लगानीमा जमिन भाडामा लिएर तरकारीखेती सुरु गरेको चापागाईं बताए। अहिलेसम्म तरकारीखेतीमा नै कम्तीमा रु २० लाख बढी लगानी गरेको चापागाईं बताउछन्। उनले अर्काको जमिन भाडामा लिएर सबैभन्दा बढी उन्नत जातका गोलभेँडा, अरु विभिन्न जातका बेमौसमी तरकारीखेती गरिरहेका छन्।

चापागाईंले वार्षिक प्रतिकट्ठा रु तीन हजारका दरले जम्मा हुने रकम भाडा तिर्छन्। उनको कृषि फारममा अहिले ६ जनाले रोजगारी पनि पाएका छन्। उनी भन्छन्, ‘सबै खर्च कटाएर वार्षिक रुपमा रु १२ लाखसम्म बचत गर्न सकेको छु।’ उनकी श्रीमती पनि यहीखेतीमा पूर्ण रुपमा लागेका छन्। दुई छोरा भने रोजगारीका लागि जिल्ला बाहिर छन्।

Forbes

चापागाईं भन्छन्, ‘म आफ्नो व्यवसायबाट सन्तुष्ट छु, खुसी छु। आफ्नै माटोमा खेलेको छु, माटोको मायाँ बढ्दो छ।  यो उमेरमा पनि जोश जागरमा कमी आएको छैन्।’ बारीमै आएर ग्राहकहरुले गोलभेडा खुर्सानीलगायतका तरकारी किनेर लैजाँदा आनन्द आउने उनी बताउछन् ।

चापागाईंले सुरुमा घोराहीस्थित मसिनामा एक बिघा जमिन भाँडामा लिए। त्यही जग्गामा उनले गोलभेँडाखेती गरे। त्यहाँबाट उनलाई राम्रो आम्दानी भयो। खेतीका लागि आवश्यक पर्ने जमिन अपुग भई साँघुरो भएपछि त्यहाँ छोडेर चापागाईंले विगत पाँच वर्षअघिदेखि यस ठाउँमा खेती गरी रहेका छन्।

चापागाईंले अन्य जातका तरकारीभन्दा गोलभेँडा खेतीबाट धेरै लाभ लिन सकिने र एकपटक रोपेपछि लामो समयसम्म फल्ने तथा आम्दानी लिन सकिने भएकाले धेरै जमिनमा गोलभेँडाखेती गरेको बताए। चापागाईँले गोलभेडासहित काँक्रो, खुर्सानी, बोडी, सिमीलगायतका तरकारी खेती पनि गरेका छन्। उत्पादन भएको तरकारी लिन बारीमै व्यापारी गाडी लिएर आउने गरेको उनले बताए।

चापागाईंका अनुसार गोलभेँडा प्रतिकिलो रु ८० र थोकमा प्रतिकिलो रु ७० देखि रु ७५ सम्म बिक्री भइरहेको छ। चापागाईं यस क्षेत्रका सफल कृषकका रुपमा स्थापित भएका छन्। कृषिप्रधान हाम्रो देशमा कृषिको अत्यन्तै राम्रो सम्भावना रहेको तर पनि राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको चापागाईंको गुनासो छ।

राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने चापागाईं सुझाव दिन्छन्। देशभित्रै सीपमुलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र विदेशीने युवालाई लक्ष्य गरेर उनीहरुलाई स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय फारम सञ्चालनमा ल्याउनुपर्ने उनी बताउछन्। रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु