काठमाडौं – कपिलवस्तुमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।
हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तु नगरपालिका– १२ पिपरहवामा रोकिराखेको ट्रकसँग भारतीय नम्बरको स्कारपियो ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा तीन जना घाइते भएका छन्।
शनिबार साँझ बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कारपियो साइड लगाइराखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठक्कर खाँदा कपिलवस्तु महाराजगञ्ज नगरपालिका– ११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका– ६ धरमनगरकी ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए। मृतकको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।
दुर्घटनामा महाराजगञ्ज नगरपालिका– ११ वनगाईका ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका– १० लालपुरका २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज नगरपालिका– ११ बस्ने २० वर्षीय सुरेश कुर्मी घाइते भएका छन्।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ९ इमिलिया बस्ने ट्रक चालक २८ वर्षीय सुरज आचार्यलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


