भरतपुर – भरतपुर महानगरपालिका–९ मा रहेको गुरुकुल कलेजको आयोजनामा भएको ‘गुरुकुल एसइई फुटसल कप’को उपाधि पटिहानीको अमर माध्यमिक विद्यालयले जितेको छ । गुरुकुल कलेजमा शुक्रबार सम्पन्न फाइनल प्रतियोगितामा रामपुरको कमल देवी आवसिय माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै अमर मावि विजयी बनेको हो ।
निर्धारित समयमा अमर माविका पर्वत गागामगरले गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो । अमर माविले सेमिफाइनलमा नेरास मावि गैडाकोट र कमल देवी आवसिय माविले ग्रीण्डल्याण्ड आवासिय माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगितामा विजेता बनेको अमर माविले १५ हजार रुपैयाँ नगद, ट्रफि र मेडल, उपविजेता कमलदेवीले १० हजार रुपैयाँ नगद, ट्रफि र मेडल प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगितामा अमर माविका पर्वत गागामगर उत्कृष्ट खेलाडी बने । उत्कृष्ट गोलकर्ताका रुपमा प्रतियोगिता अवधिभर सात गोल गर्दै ने.रा.स.मावि गैंडाकोटका नितेस गुरुङ चयन भए । उत्ता उत्कृष्ट गोलकिपरका रुपमा कमलदेवी आवासिय माविका लभ तामाङ चयन भए । उनीहरुले समान समान दुई/दुई हजार रुपैयाँ र ट्रफि प्राप्त गरे ।
चितवन र बाहिरी जिल्लामा एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यही बैशाख ९ गतेदेखि ११ गतेसम्म भएको फुटसल प्रतियोगितामा ५७ टिमको सहभागिता रहेको कलेजका कोअर्डीनेटर हरिहर भुसालले जानकारी दिनुभयो । तीन दिनसम्म सञ्चालित प्रतियोगिता नकआउट चरणमा खेलाईएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई गुरुकुल कलेजमा पढ्न चाहने खेलाडीलाई कलेजले कक्षा ११मा पढ्नका लागि छात्रबृत्तिको व्यवस्था गर्ने भुसालले जानकारी दिनुभयो । विद्यार्थीको अनुशासन र पढाइमा पनि लगनशील बनाउनको लागि कलेजले अतिरिक्त क्रियाकलापमा जोड दिँदै फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो ।
एन्फाका आधिकारीक रेफ्रिद्धारा प्रतियोगिता सञ्चालन गरिएको थियो । पुरस्कार वितरण समारोहमा सह प्राचार्य जे.एन लामिछाने, निर्देशक प्रतिक ढकाल, कोअर्डीनेटरद्धय हरिहर भुसाल, सिर्जन अविरल र बिहानी कार्यक्रम संयोजक शुशिल रेग्मी लगायतको उपस्थिती रहेको थियो ।


