चितवन – विद्यार्थी खेलकुदलाई प्रोत्साहन गर्दै आयोजित ‘गुरुकुल एसइई फुटसल कप’ सम्पन्न भएको छ। भरतपुर–९ स्थित गुरुकुल कलेजको आयोजनामा भएको प्रतियोगितामा पटिहानीको अमर माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो।
फाइनल खेलमा अमर माविले रामपुरको कमल देवी आवासीय माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्यो। खेलको निर्णायक गोल अमर माविका पर्वत गागामगरले गरेका थिए, जसले टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले।
प्रतियोगितामा अमर माविले सेमिफाइनलमा नेरास मावि गैँडाकोटलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो भने कमल देवी आवासीय माविले ग्रीनल्याण्ड आवासीय माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधिका लागी भिडेको थियो।
विजेता अमर माविले १५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता कमल देवी आवासीय माविले १० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल हात पार्यो।
व्यक्तिगत विधातर्फ अमर माविका पर्वत गागामगर ‘उत्कृष्ट खेलाडी’ घोषित भए। नेरास मावि गैँडाकोटका नितेस गुरुङ सात गोलसहित ‘उत्कृष्ट गोलकर्ता’ बने भने कमल देवी आवासीय माविका लभ तामाङ ‘उत्कृष्ट गोलकिपर’ चुनिए। उनीहरूले जनही दुई हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
वैशाख ९ देखि ११ गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा चितवनसहित बाहिरी जिल्लाका एसइई दिएका विद्यार्थीहरू गरी ५७ टोलीको सहभागिता रहेको थियो। नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट अवसर प्रदान गरेको कार्यक्रम संयोजक शुशिल रेग्मीले बताए ।
कलेजका कोअर्डिनेटर हरिहर भुसालका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई गुरुकुल कलेजमा कक्षा ११ अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ। विद्यार्थीहरूलाई अनुशासित र पढाइप्रति लगनशील बनाउन अतिरिक्त क्रियाकलापलाई जोड दिँदै यस्तो प्रतियोगिता आयोजना गरिएको उनले बताए।
एन्फाका आधिकारिक रेफ्रीद्वारा सञ्चालन गरिएको प्रतियोगिताको पुरस्कार वितरण समारोहमा सहप्राचार्य जे.एन. लामिछाने, निर्देशक प्रतिक ढकाल, कोअर्डिनेटरद्वय हरिहर भुसाल, सिर्जन अविरल लगायतको उपस्थिति रहेको थियो।


