काठमाडौं – यसबाट वालिलाई बचाउनका लागि धान काट्दा सकेसम्म जमिनको सतह छुनेगरी काट्ने, ठूटा डुब्नेगरी एक हप्तासम्म पानी जमाउने, धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो तीनदेखि पाँच सेमी चुँडेर नष्ट गर्ने, माकुरा, लामासिङ्गे फट्याङ्ग्राजस्ता मित्रजीवको संरक्षण गर्नेजस्ता काम गर्न आवश्यक रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । यस्तै प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्ने, धानखेतको आलीमा भटमास लगाउनेजस्ता काम गरे राम्रो हुने उहाँले जानकारी दिनुभयो ।
जिल्लामा यस वर्ष नौ हजार १९३ हेक्टरलमा चैते धान लगाइएको छ । उहाँले पौडेलले भन्नुभयो, “धान रोपेको सुरुआती अवस्थामा नै गवाँरोले आक्रमण गरेपछि उत्पादन घट्न सक्छ । किसानले प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ ।”
यस्तै जिल्लामा लगाइएको हिउँदे मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखिएको छ । भरतपुर महानगरपालिका, माडी नगरपालिका र खैरहनी नगरपालिका क्षेत्रमा लगाइएको मकैमा यो किराको सङ्क्रमण देखिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । यो किरा मकै बालीमा लाग्ने पुतली वर्गको रात्रीचर किरा हो । यसले सुरुआतमा मकैको पात खान्छ । उहाँका अनुसार लार्भा आफैँले बनाएको रेसा र हावाको मद्दतले अन्य बोटमा फैलिने गर्दछ । कलिलो अवस्थामा मकैको गुभोभित्र पसेर खाने गर्दछ । बोट बढ्दै जाँदा पातमा स–साना प्वाल देखिन्छन् ।
बिरुवा हुर्कदै जाँदा मकैको धान चमरा, जुङ्गा र घोगामा समेत यसले नोक्सान गर्छ । यसको रोकथामका लागि मकै उम्रेदेखि नियमित अनुगमन गरी कीराको उपस्थिति र सम्भावित क्षतिको आकलन गर्ने, मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिने जातको मकै लगाउने, एउटा पकेट क्षेत्रमा एकै समयमा मकै रोप्ने तथा समस्या देखिएमा प्राविधिकको सल्लाहअनुसार औषधिको प्रयोग गर्नुपर्छ । जिल्लामा १७ हजार ८३३ हेक्टरमा मकैखेती गरिएको छ । रासस


