काठमाडौँ — पछिल्लो समय सेयर लगानीको विषयलाई लिएर विवादमा तानिएका गृहमन्त्री सुदन गुरुङले आफ्नो लगानीको स्रोतबारे थप प्रमाण सार्वजनिक गरेका छन्। उनले २०८० साउन २१ गते नै ५० लाख रुपैयाँ ऋण लिएको ‘प्रमाणित तमसुक’ तथा वडा कार्यालयबाट प्रमाणित कागजात सार्वजनिक गर्दै आफ्नो लगानी वैध रहेको दाबी गरेका छन्।
गुरुङले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा सेयर खरिद गर्न उक्त रकम ऋणमार्फत जुटाएको स्पष्ट पारेका छन्। यसअघि करिब दुई करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबारबारे प्रश्न उठेपछि उनीमाथि स्रोत नखुलेको आरोप लागेको थियो।
उनले सार्वजनिक गरेको तमसुक र प्रमाणित कागजातले आफूले कानुनी प्रक्रियाअनुसार ऋण लिएको देखाउने प्रयास गरेको छ। गुरुङले यसलाई आफ्नो पारदर्शिताको प्रमाणका रूपमा प्रस्तुत गर्दै ‘अनावश्यक भ्रम फैलाइएको’ प्रतिक्रिया दिएका छन्।
यता केही स्रोतहरूले भने यो विषयलाई फरक ढंगले हेरेका छन्। उनीहरूका अनुसार नेपाल धितोपत्र बोर्डले प्रहरीलाई पठाउन लागेको दीपक भट्ट र सुलभ अग्रवाल जोडिएको अर्बौँ रुपैयाँको सेयर घोटाला प्रकरणको फाइलबाट ध्यान मोड्न गृहमन्त्रीमाथि ‘मिडिया ट्रायल’ गरिएको हुनसक्ने आशंका गरिएको छ।
यस घटनाले सेयर बजारसँग सम्बन्धित उच्च तहका व्यक्तिहरूको पारदर्शिता र नियमनबारे नयाँ बहस सुरु गराएको छ। गृहमन्त्री गुरुङले भने आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिने र आवश्यक परे थप प्रमाणसमेत सार्वजनिक गर्ने बताएका छन्।


