भरतपुर महानगरमा कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूको कक्षा ८ को नतिजा कमजोर देखिएको छ। हालै सार्वजनिक परीक्षाफलअनुसार सामुदायिक विद्यालयतर्फ उत्तीर्ण प्रतिशत ३९.०१ मात्र रहेको छ भने निजी विद्यालयतर्फ ७०.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। समग्र उत्तीर्ण प्रतिशत ५६.८१ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ६ प्रतिशतले घटेको हो।

यस वर्ष कक्षा ८ मा सात हजार ५८९ विद्यार्थी सहभागी भएका थिए। महानगरपालिकाभित्र ७४ सामुदायिक र ८४ निजी विद्यालय सञ्चालनमा छन्। तथ्यांकअनुसार केही विद्यालयको नतिजा अत्यन्त कमजोर देखिएको छ। भरतपुर–२९ को आधारभूत विद्यालय चौकी र भरतपुर–१७ को आधारभूत विद्यालय लगौटाको नतिजा शून्य आएको छ।

महानगर शिक्षा महाशाखा प्रमुख सुवाष आचार्यले अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दयनीय रहेको स्वीकार गर्दै नतिजा “लाजमर्दो” देखिएको बताए। उनका अनुसार आठ वटा विद्यालयमा मात्र १५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने १५ देखि २० प्रतिशत नतिजा ल्याउने १५ वटा र २० देखि ३० प्रतिशत नतिजा ल्याउने १७ वटा विद्यालय रहेका छन्। पचास प्रतिशतभन्दा बढी उत्तीर्ण गराउने विद्यालयको संख्या भने नौमा सीमित छ।

शैक्षिक गुणस्तर सुधारका लागि कक्षा कोठामै प्रभावकारी हस्तक्षेप आवश्यक रहेको आचार्यको भनाइ छ। दरबन्दी थप्नु मात्र पर्याप्त नभएको उल्लेख गर्दै उनले शिक्षण विधि र अनुगमन प्रणाली सुधार गर्नुपर्ने बताए।

महानगरपालिकाले सङ्घीय बजेटबाहेक शिक्षामा वार्षिक करिब रु १० करोड ५० लाख खर्च गर्दै आएको छ। युवा स्वयंसेवक शिक्षक, बालविकास सहजकर्ता तथा अन्य व्यवस्थापनमा समेत ठूलो रकम खर्च भए पनि अपेक्षित नतिजा आउन सकेको छैन। शिक्षकको क्षमता विकासमा भने पर्याप्त ध्यान दिन नसकिएको स्वीकार गरिएको छ।

Forbes

शिक्षा क्षेत्रका विज्ञहरूले पनि वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। प्रा. डा. सूर्यकान्त घिमिरेले पर्याप्त जनशक्ति र पूर्वाधार हुँदाहुँदै पनि नतिजा कमजोर हुनु गम्भीर विषय भएको बताए। उनले शिक्षकलाई थप जिम्मेवार र प्रेरित बनाउने वातावरण आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै रमाकान्त सापकोटाले शिक्षण पद्धतिमा परिवर्तन आवश्यक रहेको औंल्याउँदै प्रविधिमैत्री शिक्षण र विद्यार्थीको सिकाइप्रति रुचि बढाउने उपाय अपनाउनुपर्ने सुझाव दिए।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नतिजा सन्तोषजनक नभएको स्वीकार गर्दै सुधारका लागि सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको बताए। उनले आवश्यक छलफल गरी शैक्षिक गुणस्तर सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु