काठमाण्डौ – वसन्त निरौलाको निर्देशनमा बनिरहेको फिल्म ‘पाँच पाण्डव’ तिहारमा प्रदर्शन हुने भएको छ । शुक्रबार निर्माताले आरआर फिल्म्ससँग वितरणसम्बन्धी सम्झौता गर्दै तिहारमा फिल्म रिलिज गर्ने निर्णय गरेका हुन् । फिल्मको मिति भने सार्वजनिक गरिएको छैन । तर, वितरक र निर्माताबीच लक्ष्मीपूजाको दिन फिल्मलाई प्रदर्शन गर्ने सहमति भएको जनाइएको छ ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता तथा काली रानी श्रेष्ठ निर्माता रहेको यस फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, दीपाश्री निरौला, रजनी गुरुङ, सुशील सिटौला, प्रशान्त ताम्राकार, इभा गिरी लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । सुशील पौडेलको कथा, पटकथा तथा संवाद लेखन रहेको फिल्मलाई श्याम तामाङले छायांकन गरिरहेका छन् ।
निर्देशक निरौलाले फिल्मको शीर्षक ‘पाँच पाण्डव’ भए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित नभएको बताएका छन् । उनका अनुसार यो पूर्ण रूपमा एक सामाजिक कथा हो । महाभारतका पाँच पाण्डव (युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव)को चरित्र र विम्बलाई प्रयोग गर्दै फिल्ममा समकालीन समाजको यथार्थ कथा भनिने उनले बताए ।


