सुर्खेत – सल्यानमा भएको सवारी दुर्घटनाको पुर्ण विवरण आएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका इनिस्पेक्टर देवराज भट्टराईका अनुसार, बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप वडा नम्बर १२ को पुथाला भित्री सडकमा दुर्घटनामा परेको थियो ।
‘दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्,’ भट्टराईले भने, ‘गाडी सडकबाट ७८ मिटर तल खसेको छ ।’
उनका अनुसार, मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–८ का ५० वर्षीय टोप बहादुर थापा, ५० वर्षकै ठगे घर्ती र सवारी धनी २९ वर्षका कर्णबहादुर पुन रहेका छन् । जिल्ला अस्पताल सल्यानमा चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा घाइते भएका १५ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ भने ७ जनाको अवस्था मध्यम रहेको छ । घाइतेहरूलाई मेहलकुना अस्पताल सुर्खेत र जिल्ला अस्पताल सल्यानमा उपचारका लागि पठाइएको उनको भनाइ छ ।
उनका अनुसार, गम्भीर घाइते हुनेमा वनगाड कुपिण्डे नगरपालिका—८ का, ३० वर्षीया मन बहादुर थापा, ६४ वर्षीय अम्मर सिंह कँवर, २७ वर्षीय डम्मर घर्ती, ३० वर्षीय जनक थापा, ४९ वर्षीय भुपेन्द्र कँव, ३० वर्षीय भुल बहादुर थापा, ५६ वर्षीय जुग सिंह पुन र ३८ वर्षीय कुल बहादुर राना रहेका छन् ।
उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको छ ।
यस्तै, सामान्य घाइते हुनेमा ३८ वर्षीय अम्मर पुन, २८ वर्षीय, नरसिङ थापा, २५ वर्षीय प्रेम बहादुर घर्ती, नरबहादुर थापा, ३८ वर्षीय कर्ण बहादुर थापा, ४५ वर्षीय लाल बहादुर घर्ती र १५ वर्षीय तिलक थापा रहेका छन् ।
घटना घटेको थाह पाउनासाथ अस्थायी प्रहरी पोष्ट बाबियाचौरबाट प्रहरी सहायक हवलदार चुक बहादुर रावल, इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी निरीक्षक सागर पौडेल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी सहायक निरीक्षक देबेन्द्र चन्दको कमाण्डमा टोलीहरू घटनास्थल पुगेका थिए ।
पछि जिल्ला प्रहरी कार्यालयबाटै प्रहरी निरीक्षक देवराज भट्टराईको कमाण्डमा थप टोली खटिएर स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो ।
दुर्घटनास्थल बाबियाचौर प्रहरी पोष्टबाट करिब १२ किलोमिटर उत्तर–पूर्वमा पर्दछ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


