काठमाडौँ – प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन् ।
शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानुन, न्याय तथा संसमदीय मामिलामन्त्री सोबिता गौतम, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, राजनीतिक दलका संसदीय दलका पदाधिकारीलगायत उपस्थित थिए ।
- अर्थ समिति : डा कृष्णहरि बुढाथोकी
- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति : सुम्निमा उदास
- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति : रहवर अन्सारी
- कानुन, न्याय तथा मानवअधिकार समिति : समीक्षा बास्कोटा
- राज्य व्यवस्था तथा सुशासन समिति : हरि ढकाल
- सार्वजनिक लेखा समिति : भरतबहादुर खड्का
- महिला तथा सामाजिक मामिला समिति : आकृति अवस्थी
- पूर्वाधार विकास समिति : आशिष गजुरेल
- कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति : अशोक चौधरी
- शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति : डा ओजस्वी शेरचन
- संयुक्त समिति संसदीय सुनुवाइ समिति : बोधनारायण श्रेष्ठ
- राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति : गणेश कार्की
शिक्षा समिति र राज्यका निर्देशकमा दुई–दुई जनाको उम्मेदवारी परेपछि ध्वनि मतका आधारमा रास्वपाका उम्मेदवार निर्वाचित भएका हुन् । सभापति चयन गर्न भएको समितिको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यले गरेका थिए ।
निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका हुन् । नवनिर्वाचित सभापतिहरूले आजै आफ्नो समितिको कार्यालयमा पदबहाली पनि गरे ।


