पाकिस्तानमा अमेरिका र इरानबीच पुनः वार्ताको तयारी

एटुजेड समाचार

इस्लामावाद -अमेरिका र इरानबीचको तनाव कम गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा दोस्रो चरणको उच्चस्तरीय शान्ति वार्ता पुनः सुरु हुने भएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई दिनभित्रै पाकिस्तानमा वार्ता हुन सक्ने संकेत दिएपछि विश्व राजनीतिमा यसलाई निकै चासोका साथ हेरिएको छ।

यसअघि गत साता भएको २१ घण्टा लामो म्याराथन वार्ता बिना कुनै निष्कर्ष टुङ्गिएपछि दुई देशबीच सैन्य तनाव र तेल बजारमा अनिश्चितता बढेको थियो।

पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल जनरल असिम मुनिर र प्रधानमन्त्री शहबाज शरिफको सक्रिय मध्यस्थतामा यो वार्ताको वातावरण बनेको हो। राष्ट्रपति ट्रम्पले एक अन्तरर्वार्ताका क्रममा पाकिस्तानको मध्यस्थता भूमिकाको प्रशंसा गर्दै इस्लामावादमा वार्ता टोली पठाउन आफू सकारात्मक रहेको बताएका छन्।

वार्ता अप्रिल १७ (बैशाख ५) भित्रै वार्ता सुरु हुने सम्भावना छ। अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स र इरानका तर्फबाट विदेशमन्त्री अब्बास अराघचीले नेतृत्व गर्ने अपेक्षा गरिएको छ।

Forbes

अमेरिकाले इरानको युरेनियम संवर्धन कार्यक्रमलाई २० वर्षका लागि पूर्ण रूपमा रोक्न माग गरेको छ भने इरानले १० वर्षभन्दा बढीको प्रतिबन्ध स्वीकार्न नसकिने अडान राखेको छ। हर्मुज जलडमरू विश्वको २० प्रतिशत तेल ढुवानी हुने यस मार्गलाई बिना सर्त खुला गर्न अमेरिकाले दबाब दिइरहेको छ।

वार्ताको समाचार सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही स्थिरता देखिएको छ। यदि यो वार्ता सफल भयो भने वैशाख ९ (अप्रिल २१) मा सकिन लागेको दुई हप्ते अस्थायी युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा बदल्न मद्दत पुग्नेछ।

संयुक्त राष्ट्रसंघका महासचिवले पनि यो वार्तालाई “अन्तिम अवसर” का रूपमा परिभाषित गर्दै दुवै देशलाई लचकता अपनाउन आग्रह गरेका छन्। पाकिस्तानले आफ्नो राजधानी इस्लामावादमा सुरक्षा व्यवस्था कडा पारेको छ भने वार्ताको मिति र स्थानको औपचारिक घोषणा केही घण्टाभित्रै हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु