चितवन – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजना गरिएको मित्रमिलन तथा बनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमसँगै आउँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा क्यालेन्डर विमोचन समेत गरिएको थियो।

इक्यान चितवनका अध्यक्ष भोजबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा निवर्तमान केन्द्रीय अध्यक्ष शेषराज भट्टराई सहभागी भएका थिए भने केन्द्रीय सल्लाहकार समिति सदस्य दया थापा, प्रथम उपाध्यक्ष बासुदेव दहाल, सचिव आशिक कार्की लगायतका पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, कार्यक्रममा इक्यान चितवनका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
उक्त अवसरमा प्रमुख अतिथि लक्ष्मण पौडेलले शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउँदै नयाँ वर्षले सम्पूर्ण सदस्यहरूमा थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। अध्यक्ष भोजबहादुर खड्काले संस्थागत एकता र सहकार्यलाई मजबुत बनाउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइने बताए।
यसैगरी, पूर्व अध्यक्षहरू समुन्द्र अर्याल र हिम्मत पुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रमले आपसी सम्बन्ध सुदृढ गर्नुका साथै नयाँ वर्षलाई उत्साहपूर्वक स्वागत गर्ने वातावरण सिर्जना गरेको इक्यान चितवनका सचीव एवं कार्यक्रम संचालक लक्ष्मण कंडेलको भनाइ छ।


