निजी विद्यालयले वैशाख महिनाको शुल्क लिन नपाउने, कक्षा संचालन बैशाख २१ गतेदेखि

एटुजेड समाचार

काठमाडौं – निजी विद्यालयहरूले आगामी वैशाख महिनाको शुल्क लिन नपाउने भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख महिनामा पठनपाठन नै नहुने भएकाले उक्त अवधिको शुल्क लिन नपाइने स्पष्ट पारेको हो।

केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार सरकारले वैशाख २१ गतेदेखि मात्र नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने निर्णय गरेकाले त्यसअघिको अवधिमा विद्यालयहरूले कुनै पनि शुल्क लिन पाउने छैनन्।

यसअघि वैशाख १ गतेदेखि नै भर्ना अभियान र शैक्षिक सत्र सुरु हुने परम्परा रहेकाले अभिभावकहरूलाई यस वर्ष शुल्क तिर्नुपर्ने वा नपर्ने विषयमा अन्योल थियो।

तर यसपटक भर्ना प्रक्रिया वैशाख १५ गतेदेखि सुरु हुने र कक्षा सञ्चालन भने वैशाख २१ गतेदेखि मात्र हुने भएपछि उक्त अवधिको शुल्क असुल गर्न नपाइने केन्द्रले जनाएको छ।

Forbes

प्रवक्ता पराजुलीले भने, “अब पठनपाठन नै नहुने भएकाले वैशाख २१ गतेसम्मको शुल्क विद्यालयले लिन पाउँदैनन्। यदि कुनै विद्यालयले मागेमा अभिभावकहरूले नदिनुहोला, पठनपाठन सुरु भएपछि मात्र शुल्क लिन पाइन्छ।”

उनका अनुसार नियमविपरीत शुल्क असुल गरेको पाइएमा सम्बन्धित विद्यालयलाई कानुनअनुसार कारबाही गरिनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु