काठमाडौं – शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राम नाम सत्य’को अग्रिम टिकट बिक्री बुधबारदेखि खुलेको छ । देशभरका मल्टिप्लेक्स र सिंगल स्क्रिन हलले फिल्मका लागि एड्भान्स टिकट बिक्री थालेका छन् । प्रदर्शनअघि नै फिल्मले देशव्यापी करिब १४० शोज पाएको छ ।
फिल्ममा अभिनेता विराज भट्ट मुख्य भूमिकामा छन् । साथै सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिब्या रायमाझी, खुसी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको पनि अभिनय छ ।
माइकल चन्दको लेखन तथा निर्देशनमा बनेको यो एक्सन-ड्रामा फिल्मको कथावस्तु समसामयिक परिवेशसँग जोडिएको छ । देशमा भ्रष्टाचार बढ्दै जाँदा र माफिया समूह तथा विदेशी शक्तिको प्रभाव बढ्न थालेपछि ‘अगुआ’ (नेता) नामको एक पात्रले भ्रष्ट राजनीतिज्ञ र व्यवसायीलाई एकपछि अर्को गर्दै मार्न थाल्छ । प्रत्येक घटनास्थलमा उसले आफ्नो छुट्टै चिन्ह छोड्ने गर्दछ, जसले कथालाई अझ रहस्यमय बनाउँछ । निर्माण पक्षका अनुसार फिल्मको कथा र प्रस्तुति फरक भएकाले दर्शकले नयाँ अनुभव पाउने अपेक्षा गरिएको छ । यो फिल्म १६० मिनेटको छ ।


